सरकार र डा. गोविन्द केसी प्रतिनिधिबीचको वार्ता बुधबार पनि निष्कर्षविहीन


govindaमंसिर १५, २०७३- सरकार र डा. गोविन्द केसी प्रतिनिधिबीच बुधबार साँझ भएको चौथो दिनको वार्ता पनि कुनै निष्कर्षमा पुग्न सकेन ।

डा. केसीका प्रतिनिधि डा. लिजन महर्जनका अनुसार चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राध्यापक बनेको वरिष्ठताका आधारमा हुनुपर्ने र त्रिवि उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गर्नुपर्ने मागमा कुरा नमिलेको हो । वार्ता बिहीबार पनि हुने उनले जनाए ।

रेजिडेन्टहरू आकस्मिकमा मात्रै  
डा. केसीका माग तत्काल पूरा गर्नका लागि दबाब दिन राजधानीको त्रिवि शिक्षण अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत अध्यापन गराइने सबै शिक्षण संस्थाहरूमा रेजिडेन्ट चिकित्सकहरू आकस्मिक बाहेकको सेवामा सरिक भएनन् ।

रेजिडेन्ट एसोसिएसन अफ न्याम्सले विज्ञप्ति जारी गर्दै वीर अस्पताल ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति अस्पताल, तिलगंगा आँखा अस्पताल, पाटन अस्पताललगायत रेजिडेन्ट चिकित्सकहरू आकस्मिकबाहेकको सेवामा सरिक नभएको जनाएको छ ।

‘डा. केसीको माग सम्बोधन नभएसम्म हामी आकस्मिकबाहेकका सेवामा सरिक हुनेछैनौं,’ रेजिडेन्ट एसोसिएसन अफ न्याम्सका अध्यक्ष डा. विष्णु भण्डारीले भने, ‘सम्बद्ध निकायले अझै ठोस कदम नचालेकोमा हामी खेद प्रकट गर्छौं ।’

न्याम्सअन्तर्गत करिब तीन सय २० र चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत करिब साढे तीन सय रेजिडेन्ट चिकित्सक छन् ।

साभारः कान्तिपूर अनलाइन