प्रधानमन्त्री प्रचण्डबाट कर्णाली एक्सपो-१६ को उद्घाटन


a
फोटोः जीवनकुमार शाक्य

अशोक राजी

२३ म‌ंसीर सुर्खेत । कर्णाली प्रदेशलाइ पर्यटन, शैक्षिक, यातायात तथा विभिन्न क्षेत्रमा विकास गर्नका लागि सरकारले विशेष पहल गरिरहेको प्रधानमन्त्री पुष्पकमल दाहालले जोड दिनुभएको छ । सुर्खेत लगानी बर्षको आधार दिगो शान्तिको मुल आधार भन्ने नारासहित सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको कर्णाली एक्स्पो कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले कर्णाली प्रदेशमा रहेको रारा ताल, चौकुने सिमेन्ट उद्योग, जडीबुटी संकलन केन्द्रको विकास गर्नका लागि पहल भएको बताउनुभएको हो ।

कार्यक्रममा प्रमुख अथितिसमेत रहनुभएका प्रधानमन्त्री दाहालले सुर्खेत जुम्ला सडक मर्मत तथा सुधार, मेडिकल कलेज स्थापनाका लागि विशेष पहल, क्षेत्रीय विमान स्थल निर्माणमा सहयोग लगायतका कार्यहरुलाइ तत्काल कार्यान्वयन गरिने पनि प्रतिवद्धता जनाउनुभयो ।

यस्तै कार्यक्रममा गरिवी निवारण तथा सहकारी मन्त्री हृदयराम ठानीले कर्णाली प्रदेशमा रहेका पर्यटकिय स्थलहरुको विकासका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै बाढि पिडितहरुको अवस्था अझै पनि उस्तै रहेको बारे जानकारी गराउँदै तत्कालै स्थायि व्यवस्था गर्न सरकारसंग माग गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका संयोजक तथा पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली ६ नं प्रदेशका पर्यटकिय स्थलहरुको विकासमा जोड दिएमा कर्णाली प्रदेश अन्य प्रदेश भन्दा फरक हुने धारण राख्नुभयो यस्तै साँसद सिता नेपालीले सुर्खेत लगायत कर्णाली ६ नं प्रदेशमा रहेका विभिन्न क्षेत्रहरु सुर्खेत जुम्ला सडक विस्तार, सुर्खेत नेपालगञ्ज सडक ४ लेन लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

पुस ३ गतेसम्म सञ्चालन हुने कर्णाली एक्स्पोमा करिब १० करोड बराबरको आर्थिक कारोबार हुने मुल आयोजक समितीका संयोजक तथा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

कर्णाली एक्स्पो अन्तराष्ट्रिय व्यापार मेलामा बंगलादेश, भारत, चिन, पाकिस्तान, थाइल्याण्ड लगायतका स्टलहरु रहनुका साथै विभिन्न राष्टि्रय तथा अन्तराष्टि्रय कलाकारहरुको प्रस्तुती, विभिन्न आदिवासी जनजातीको खानाका परिकारहरु र प्रदर्शनीहरु रहने अध्यक्ष अधिकारीले बताउनुभयो ।