काठमाडौँ, १४ पुस । रुपन्देहीमा युवा संघका जिल्ला अध्यक्षको हत्या भएको दुई साता नहुँदै बाँकेमा आज बेलुकी युवा संघका अर्का नेताको पनि हत्या प्रयास भएको छ ।
बाँकेको कोहलपुरमा अज्ञात समूहले युवा संघका केन्द्रीय सदस्य एवं बाँके जिल्लाका इन्चार्ज सन्तोष बुढाथोकीको हत्या प्रयास भएको हो । आक्रमणकारीले घाँटीमा धारिलो हतियार प्रहार गरेका कारण बुढाथोकीको अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ ।
उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको छ । तर, चिकित्सकहरुले नेपालगन्जमा उपचार हुन नसक्ने भनेपछि राजधानी ल्याउनका लागि हेलिकप्टरको खोजी भइरहेको युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले दैनिक नेपाललाई जानकारी दिए ।
बुढाथोकीमाथि आज राति नौ बजे आक्रमण भएको हो । आक्रमणको कारण खुल्न नसके पनि युवा संघका अध्यक्ष पहारीले भने राजनीतिक कारण भएको बताएका छन् । आफ्ना नेता कार्यकर्तामाथि एकपछि अर्को गरी आक्रमण हुन थालेको भन्दै पहारीले बदला लिने चेतावनी दिएका छन् ।



Prawash Kumar Shakya । १४ पुष २०७३, बिहीबार १७:०५ बजे