बालबालिकामा हुने यी मुख्य ८ क्यान्सरबारे बेलैमा जानौँ


Ganendra
डा. राय सिद्धि स्मिृति अस्पताल, भक्तपुरका बालरोग विशेषज्ञ)

क्यान्सर शरीरका कोष र तन्तुहरुको अनियन्त्रित बृद्धिबाट हुने रोग हो। जसले अरु अंगमा फैलने क्षमता राख्छ। यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने भए पनि हरेक वर्ष यसका बिरामी बढिरहेको तथ्यांकले देखाउँछ। विकसित देशको रोगका रुपमा चिनिने क्यान्सर अब नेपालजस्ता विकासोन्मुख देशमा पनि प्रसस्त देखिन थालेको छ। क्यान्सर भन्ने बित्तिकै बुढाबुढी वा वयस्कलाई मात्र लाग्ने रोग भन्ने आम बुझाइ छ। तर,बच्चाहरुलाई पनि क्यान्सर हुन सक्छ। यसको छुट्टै विशेषता हुन्छ। नेपालमा बच्चाहरुमा हुने क्यान्सर पनि बढ्न थालेको आँकडाले देखाएको छ। कान्ति बालअस्पतालको तथ्यांक अनुसार क्यान्सर रोग विगतको तुलनामा बढी मात्रामा पत्ता लागेको छ र उपचारका लागि आउनेको संख्या पनि बढ्दो छ।

विश्वव्यापी तथ्यांक अनुसार प्रत्येक वर्ष १५ वर्षमुनिका एक लाख ६० हजार बालबालिकालाई क्यान्सर हुने गर्छ। तीमध्ये ९० हजारको मृत्यु हुन्छ। नेपालमा प्रत्येक वर्ष एक हजार एक सयदेखि एक हजार ६ सयसम्म बच्चाहरुमा क्यान्सर रोग हुने गरेको अनुमान छ।

वयस्कहरुलाई क्यान्सर लाग्ने कारण जीवनशैली मानिए पनि बच्चाहरुमा यसको प्रभाव त्यति धेरै हुँदैन। यिनीहरुलाई क्यान्सर हुने मुख्य कारण बच्चा नजन्मदै वा शिशु अवस्थामा छँदै शरीरका कोषहरुको विभाजन हुँदा यसभित्रका डिएनएमा अस्वभाविक परिवर्तनलाई मानिन्छ। विकीरण, चुरोटको धुँवा र रसायनिक पदार्थका कारणले पनि बच्चामा क्यान्सरको शुरुवात हुन सक्छ।

कान्ति अस्पतालमा भएको अध्ययनअनुसार बच्चामा निम्न क्यान्सरहरु अधिक देखिएको छः

  1. रगतको क्यान्सर (Leukemia)
  2. मृगौलाको क्यान्सर (Wilm’stumour)
  3. लिम्फग्रन्थी सम्बन्धी क्यान्सर (Non-Hodgkin’s lymphoma and Hodgkin’s lymphoma)
  4. जर्म सेल ट्युमर (Germ cell tumour)
  5. आँखाको पर्दाको क्यान्सर (Retinoblastoma)
  6. स्नायुकोष सम्बन्धीक्यान्सर (Brain, Spinal tumour, Neuroblastoma)
  7. कलेजो सम्बन्धी क्यान्सर (Hepatoblastoma)
  8. हड्डीको क्यान्सर (Osteosarcoma, Ewing’s tumour)

१. रगतको क्यान्सर (Leukemia)

यो रगत र हाडे मासी (बोन म्यारो) को अनियन्त्रित बृद्धिका कारण हुन्छ। यो बच्चाहरुमा सबैभन्दा बढी हुने क्यान्सर हो। यो रोग लाग्दा बच्चाहरुमा ज्वरो आइरहने, रक्त अल्पता (एनिमिया), छालामा रातानीलादागहरु देखिने, नाक, गिजा आदिबाट रगत बग्ने, जोर्नी दुख्ने, दुब्लाउँदै जाने, खाना नरुच्ने आदि लक्षणहरु देखिन्छन्। यी लक्षणहरु देखिएमा चिकित्सकले रगत र हाडको मासी जाँच गरी रोग निदान गर्दछन्। एक्स रे, युएसजी, सिटी, एमआरटी तथा पेट स्क्यान जस्ता परीक्षणले रोगको फैलावट पत्ता लगाउन थप सहयोग गर्छन्। रोग पत्ता लागेपछि यसको तुरुन्त उपचार सुरु गर्नु पर्छ। खाने वा सुइबाट दिइने औषधी (केमोथेरापी) यस रोग निदानका लागि मुख्य उपचार विधि हो। यसका अवाला शल्यक्रिया, शरीरका विभिन्न भागहरु सेकेर गरिने उपचार (रेडियोथेरापी) आदिको पनि प्रयोग गरिन्छ। रोगको पहिचान भएपछि सही उपचार सुरु भएमा पाँच वर्षसम्म बाँच्ने सम्भावना केही वर्षयता बढेको छ।

एएलएल (Acute lymphoblastic Leukemia) भनिने एक प्रकारको ब्लड क्यान्सरमा पाँच वर्षसम्म बाँच्ने दर ८० प्रतिशतभन्दा बढी हुन्छ। ब्लड क्यान्सरको उपचारमा शल्यक्रियाको भूमिका न्यून छ भने रेडियोथेरापीले यो रोग दिमाग र अण्डाशय जस्ता अंगमा फैलन नदिन सहयोग गर्दछ। स्वस्थ हाडे मासी प्रत्यारोपन (Bone Marrow Transplantation) गर्नु ब्लड क्यान्सरका केही रोगहरुमा उपयोगी हुन्छ।

२. मृगौलाको क्यान्सर (Wilms’ Tumor)

नेफ्रोब्लास्टोमा (Nephroblastoma) पनि भनिने मृगौलाको यो क्यान्सर तीनदेखि चार वर्ष सम्मका बच्चाहरुलाई बढी हुने गर्दछ। बच्चाहरुलाई हुने मृगौलाको क्यान्सरमा ९० प्रतिशत क्यान्सर Wilms’ tumor हुन्छ। यो क्यान्सर सुरुवाती अवस्थामा पत्ता लगाउन मुस्किल हुन्छ। किनभने यो ट्युमर ठूलो हुन्जेल केही लक्षण नदेखिन सक्छ। बच्चालाई नुहाउँदा वा तेल मालिस गर्दा पेटमा नदुख्ने डल्लो भेटाउनु पहिलो लक्षण हुनसक्छ। ज्वरो आउने, खाना नखाने वा बान्ता गर्ने, पिसावमा रगत देखिने आदि यसका लक्षण हुन्। रोगको यकिन गर्न युएसजी, सिटी, एमआरई जस्ता जस्ता परीक्षण गरिन्छ।

मृगौलामा पलाएको क्यान्सरसम्बन्धी बायप्सी गरी रोगको प्रकृतिबारे थप जानकारी प्राप्त हुन्छ। छातीको एक्स रे, बोड स्क्यान जस्ता जाँचबाट रोगको फैलावट थाहा हुन्छ। यस रोगको उपचारका लागि सुरुमा केमोथेरापी दिएर क्यान्सरलाई सानो बनाई शल्यक्रिया गरिन्छ। शल्यक्रियाबाट सबै क्यान्सर हटाउन नसकिने शंका भएमा रेडियोथेरापी दिइन्छ। सुरुकै अवस्थामा पत्ता लगाई उपचार सुरु गरिए बिरामी ४ वर्षसम्म बाँच्ने सम्भावना ९९ प्रतिशत हुन्छ।

३. लिम्फग्रन्थी सम्बन्धी क्यान्सर (Non- Hodgkin’s Lymphoma/ Hodgkin’s Lymphoma)

यी दुवै क्यान्सरहरु लिम्फग्रन्थीमा परिस्कृत भएर रोग प्रतिरोधात्मक क्षमताका लागि कार्य गर्ने रगतका एक प्रकारको सेता रक्तकोषहरु (Lymphocytes) को अनियन्त्रित बृद्धि भएर हुन्छ। Hodgkin’s Lymphoma (HL) भन्दा Non- Hodgkin’s Lymphoma (NHL) बच्चाहरुमा बढी देखिन्छ। बच्चाहरुलाई हुने कूल क्यान्सरमध्ये ५ प्रतिशत NHL हुन्छ। EBW, HIV जस्ता भाइरसहरुको संक्रमणले NHL हुने सम्भावना बढ्छ। Hodgkin’s Lymphoma २०३० वर्ष र ५० वर्ष माथिका वयस्यलाई बढी हुन्छ।

ज्वरो आउने, पसिना धेरै आउने, तौल घट्दै जाने र शरीरका विभिन्न भागमा नदुख्ने डल्ला (Glands, Lymph nodes) निस्कने जस्ता लक्षणहरु देखिन्छ। परीक्षणको क्रममा फियो र कलेजो सुन्निने पनि देखिन्छ। Lymph Node को बायस्पी गरेर यो रोगको पहिचान हुन्छ। रेडियोथेरापी यो रोगको प्रमुख उपचार हो। यदि यो रोग फैलिसकेको छ भने केमोथेरापी आवश्यक हुन्छ। शरीरभित्रका ठूला Lymphoma हरुका लागि शल्यक्रिया गर्न सकिन्छ।

४. जर्म सेल ट्युमर (Germ Cell Tumor)

शुक्राणु (Sperm) र अण्डा (Ovum) बनाउने अण्डकोष र डिम्वासयजस्ता अंगबाट हुने क्यान्सरलाई जर्म सेल ट्युमर (जिसिटी) भनिन्छ। यो रोग वंशाणुगत हुन सक्ने भएकाले परिवारका धेरै सदस्यलाई हुन सक्छ। धेरै चिल्लो पदार्थको सेवनले ओभरीको क्यान्सर हुन सक्ने कुरा पत्ता लागेको छ। तेस्रो लिंगी व्यक्तिहरुमा पनि यो क्यान्सर बढी हुने सम्भावना हुन्छ।

अण्डकोष सुन्निने, पेट दुख्ने, तौल घट्ने, पेटमा मासु पलाउने जस्ता लक्षण यो रोगमा देखिन्छ। लक्षणका आधारमा युएसजी, सिटी स्क्यान र रगतका केही जाँचहरुले रोगको निदान हुन्छ। शल्य चिकित्साबाट ट्युमर निकाल्ने र केमोथेरापीको माध्यमबाट यो रोगको उपचार हुन्छ। सुरुवाती अवस्थामा नै रोगको उपचार भएमा पूरै निको हुने सम्भावना बढ्दछ।

५. आँखाको पर्दाको क्यान्सर (Retinoblastoma)

आँखाको पर्दा बनाउने कोषहरु Retinoblasts बाट सिर्जित क्यान्सरलाई Retinoblastoma भनिन्छ। यो रोगका केही प्रकारहरु वंशाणुगत हुन्छन्। करिब दुई वर्ष उमेरका बच्चाहरुलाई यो क्यान्सरको सम्भावना सबैभन्दा बढी हुन्छ। ६ वर्षको उमेरपछि यो रोग विरलै देखिन्छ। यो रोग लागेमा आँखा रातो हुने, दुख्ने, दृष्टि कमजोर हुने, आँखा ठूलो हुँदै जाने र आँखाबाट रगत बग्ने हुन सक्छ। युएसजी, सिटी स्क्यान, एमआरआई जस्ता परीक्षणबाट यो रोगको पहिचान गर्न सकिन्छ। ट्युमरको बायस्पी गर्न सके रोगबारे थप जानकारी प्राप्त हुन्छ।

रेडियोथेरापी नै यो रोगको प्रमुख उपचार विधि हो। केमोथेरापीले थप सहयोग हुन सक्छ। ठूलो र फैलिसकेको ट्युमरका लागि चिसोले सेक्ने (Cryotherapy) र शल्यक्रियाबाट आँखा निकाल्ने जस्ता उपाय अपनाइन्छ। उपचारबाट बिरामी बाँच्ने सम्भावना ९० प्रतिशत रहन्छ।

६. स्नायुकोष सम्बन्धी क्यान्सर (Brain, spinal cord cancer, Neuroblastoma)

ब्रेन क्यान्सर बालबालिकामा हुने क्यान्सरहरुमध्ये दोस्रो मुख्य क्यान्सर भएको संसारभरिको तथ्यांकले बताउँछ। मस्तिष्कको क्यान्सरमा टाउको दुख्ने,, वाकवाकी, वान्ता, दृष्टि कमजोर, चक्कर लाग्ने, हातखुट्टामा कमजोरी र छारे रोगजस्ता लक्षण देखिन्छ। मस्तिष्कमा धेरै प्रकारका स्नायु कोषहरु हुनाले मस्तिष्कको क्यान्सर पनि धेरै प्रकारका हुन्छन्। प्रत्येक प्रकारका क्यान्सरको आआफ्नै उपचार पद्दति र सफलताहरु छन्। लक्षणका आधारमा टाउकोको सिटी स्क्यान वा एमआरआई जस्ता जाँचपछि यो रोगको निदान हुन्छ। यो रोगको मुख्य उपचार शल्यक्रिया नै हो। रेडियोथेरापी र केमोथेरापीबाट पनि यसको उपचारमा सफलता मिलेको छ। तीन वर्षमुनिका नानीहरुलाई भने रेडियोथेरापीले मस्तिष्कमा गम्भीर असर हुने हुनाले यो गरिँदैन। स्नायुकोषका सुरुवाती अपरिपक्व कोषहरु जुन गर्भको भ्रुणमा विकसित हुन्छ, यसबाट उत्पन्न क्यान्सरलाई Neuoblastoma भनिन्छ। यो क्यान्सर प्रायः एक वर्षको हाराहरीका बच्चाहरुमा हुने गर्छ। बच्चा पाँच वर्ष हुनुअगावै यस रोगको पहिचान भइसकेको हुन्छ।

यो रोगमा सबैभन्दा बढी देखिने लक्षण पेटमा छाम्दा भेटिने ट्युमर, पेटको दुखाइ र खुट्टाहरु सुन्निनु हो। पेट, छाती र घाँटीमा पलाउने Neuoblastoma ले नजिकको नशाहरुलाई थिची अन्य लक्षणहरु देखापर्न सक्छ। क्यान्सर सबैभन्दा बढी हाडमा फैलिने हुनाले हड्डीमा दुखाइ तथा भाँचिने हुन सक्छ। युएसजी गरेर शरीरका विभिन्न भागमा Neuoblastoma को पहिचान गर्न सकिन्छ भने एक्स रे गरेर हड्डीमा भएको फैलावट थाहा पाउन सकिन्छ। पिसाव र रगतमा यस ट्युमरले निकाल्ने केही पदार्थको जाँचबाट पनि यो क्यान्सरको निदान हुन्छ। ट्युमरको बायस्पीबाट यो रोगको थप पहिचान हुन सक्छ। Neuoblastoma को उपचारका लागि शल्यक्रियाका साथै केमोथेरापी र रेडियोथेरापी पनि गरिन्छ।

७. कलेजो सम्बन्धी क्यान्सर (Hepatoblastoma)

बच्चाहरुमा मात्र हुने कलेजोको यो क्यान्सर चार वर्षको उमेरभन्दा अगाडि देखिन्छ। यो रोगका लक्षणहरुमा जन्डिस, पेट दुखाइ, खानाको अरुची, तौल घट्नु, जिउ चिलाउनु आदि पर्छन्।

युएसजी, बायस्पी र रगतमा α-feto protein भन्ने तत्वको मात्राका आधारमा यो रोगको पहिचान हुन्छ। केमोथेरापी र रेडियोथेरापी यस रोगको प्रमुख उपचार विधि हो। सम्भव भएमा शल्यक्रिया पनि गरिन्छ।

८. हड्डीको क्यान्सर (Osteosarcoma, Ewing’s tumour)

बच्चाहरुमा हुने हड्डीको क्यान्सर विभिन्न प्रकारका हुन्छन्। तीमध्ये Osteosarcoma, Ewing’s sarcoma मुख्य हुन्। १० देखि २० वर्षका बच्चाहरु र किशोर किशोरीमा यो रोग बढी देखिन्छ । Osteosarcoma प्रायःजसो घुँडा र कुहिना वरपर देखिन्छ भने Ewing’s sarcoma पाखुरा, कम्मर, करङ र पिँडौलाको हड्डीहरुमा बढी हुन्छ। यो रोग लागेमा हड्डी सुन्निने, दुखाइ हुने, हिँडडुल गर्न गाह्रो हुने, हड्डी कमजोर हुने र भाँचिने हुन्छ। यसका अलावा ज्वरो आउने, खाना नरुच्ने, थकावट हुने, तौल घट्ने र रक्त अल्पता जस्ता लक्षण पनि देखिन्छ।

एक्स रे, सिटी स्क्यान, एमआरआई जस्ता परीक्षणले यो रोगको पहिचान गरिन्छ भने बायस्पी मार्फत रोगको पक्का पहिचान हुन्छ। २५ प्रतिशत जति हड्डीको रोग निदान हुनुअघि नै फैलिसकेको हुन्छ। यो क्यान्सरले प्रभावित पार्ने पहिलो अंग प्रायःजसो फोक्सो हुन्छ। शल्यक्रियाबाट ट्युमर निकाल्ने र केमोथेरापीबाट यो रोगको उपचार हुन्छ। उपचारको सफलता रोगको प्रकृति, यसको फैलावट र प्रभावित अंगहरुमा निर्भर गर्दछ। साधारणतया रोगको उपचारपछि बिरामी ५ वर्ष बाँच्ने सम्भावना ७० प्रतिशत हुन्छ।

बालबालिकाहरुमा क्यान्सर रोगका लक्षणहरु पत्ता लगाउन गाह्रो हुन्छ। रोग पत्ता लाग्न ढिला भएपछि उपचार प्रभावकारी नहुने सम्भावना धेरै हुन्छ। तल उल्लेखित लक्षणहरुमध्ये केही देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिनु आवश्यक छः

  • लगातार तौल घट्दै जाने। खानामा अरुची र बान्ता भइरहने।
  • स्फुर्ती कम हुने र बच्चा सेतो वा पहेँलो हुँदै जाने जस्ता रक्त अल्पताका लक्षण देखिने र साधारण उपचार विफल हुने।
  • टाउको दुखाइ र बिहानबिहान बान्ता भइरहने।
  • दृष्टिमा एक्कासी कमजोरी सुरु हुने।
  • आँखाको नानी सेतो हुने।
  • बारम्बार ज्वरो आइरहने।
  • हातखुट्टाका हड्डी सुन्निने र दुखाइ बढ्दै जाने।
  • शरीरका कुनै भागमा डल्लाडुल्ली उत्पन्न भएर बढ्दै जाने।
  • शरीरका विभिन्न भाग (नाक, कान, गिजा) बाट रक्तस्राव भइरहने र छालामा निलडाम देखिने। आदि।

साभारः स्वास्थखबरपत्रिका अनलाइन