सुत्केरी हुँदा पालमुनि २५ दिन !


tent-09022017075312-1000x0माघ २७, २०७३- सुत्केरी हुँदा २५ दिनसम्म पालमुनि बस्नुपर्छ भनेको सुन्दा जोसुकैलाई पनि अचम्म लाग्न सक्छ । तर, वर्षौंदेखि यस्तो पीडा व्यहोर्नेहरू थुप्रै छन् । अपरिचित ठाउँमा सुत्केरी हुँदा पालमुनिको दिनचर्या कति पीडादायी होला ? डोटी माइतीघर भएकी धनकला थापा (भोटे) ले यस्तै पीडा भोगिन् ।

गाउँकै स्कुलमा ७ कक्षामा पढदै थिइन् । हिउँदमा बाजुराको पाण्डुसेनबाट भेडाको हूल बाँधेर एउटा भोटे परिवार उनकै गाउँ आइपुग्यो । खाइलाग्दा भोटे युवासँग माया–प्रेममा परिन्, धनकला । यो जोडीले भागेर घरजम बसाए । तीन वर्षपहिले विवाह गरेका उनीहरूको गत वर्ष बच्चा जन्मियो, त्यो पनि हिउँदमै । महिनावारी हुँदा ५ दिन गोठमा बस्ने गरेकी धनकला सुत्केरी हुँदा २५ दिन पालमुनि बसिन् ।

‘माइतीमा पनि छाउपडी बस्थ्यौं  । तर सुत्केरीलाई २५ दिनसम्म घरबाहिर राख्दैनन्, पहिलो पटकको प्रसव पीडामा हिउँदको चिसोमा लगभग एक महिना पालमा बस्नुपर्दाको पीडा भनेर साध्यै छैन,’ उनले भनिन् । हिउँदको सुरुवातसँगै चिसो बढ्न थालेपछि पुस पहिलो साता उच्च हिमाली भेगमा बसोबास गर्ने भोटे समुदाय बेंसी झर्छन् । बेंसी झर्दा धनकला सुत्केरी भएकी थिइन् ।

प्रत्येक वर्षझैं यसपालि पनि हिउँद छल्न पाण्डुसेनका दुई भोटे परिवार आफूसँग भएका २ सय भेडाबाख्रा ल्याएर अछाम आएका छन् । बाजुरा पाण्डुसेनकी हिमा थापा अहिले ३० वर्ष पुगिन् । उनले कैयौं हिउँद यस्तै पालमा आगो बालेर गुजारिन् । ‘प्रदेशको ठाउँ, देवीदेवताको भरमा बस्नुपर्छ,’ उनले सुनाइन्, ‘देउता रिसाउने मान्यताले छाउपडी र सुत्केरी हुँदा बेग्लै बस्नु पर्दा निकै दु:ख हुन्छ ।’ भोटे समुदायमा छाउ हुँदा ५ दिन र सुत्केरी हुँदा २५ दिन गोठमा बस्नुपर्छ । हिउँदको सिजनमा चिसोले झनै कष्ट हुन्छ ।

‘घरमा मष्टो देवतालाई पुज्ने गरिन्छ,’ उनले भनिन्, ‘मष्टोलाई राम्रोसँग पुजेन, नियम पुर्‍याएन भने वनमा बाघ, घरमा आगो लगाउँछ । त्यसैले पनि एकदमै सजग हुन्छौं ।’ उनका अनुसार गाउँमा सानो गोठ भएकाले त्यसैमा बस्ने गरिन्थ्यो । हिउँद छल्न औलतिर सरेपछि पालको बासमा सीमित लुगाकपडाका भरमा रात काट्नुपर्ने बाध्यता छ । छाउ हुँदा लुगाको अभावमा आगोको सहारामै रात कटाउनुपर्ने उनले बताइन् ।

उनलाई छोराको भविष्यको चिन्ताले पनि सताउने गरेको छ । ‘तीन बच्चा छन् । जेठो छोरा हिमाल स्कुल जाने भइसक्यो, गाउँमा एक कक्षामा पढ्ने उसको बसाइँसराइसँगै पढाइ पनि छुट्यो,’ उनले दुखेसो पोखिन् । हिमाका परिवारमा ६ जना छन् । उनी दिनभर घरको काममा व्यस्त हुन्छिन् । पति र ससुरा भेडा लिएर जंगल जान्छन् । उनीहरू यसरी बसाइँ सर्नुमा चिसोबाट जोगिनु मात्रै होइन, आफ्नो जीविका चलाउनु पनि हो । भेडाबाट नुन, चामल ओसारेर गर्जो टार्छन् ।

उनको परिवार बाजुराबाट पुस पहिलो साता हिँडेको थियो । भेडाको बथान लिएर अछामको विन्ध्यवासिनी गाविसको रोकायागाउँ आइपुग्दा साता नै लाग्यो । आफ्नो गाउँका अन्य परिवार अछामको साफेबगर, सुतार र अन्य जिल्लामा पनि बसाइँ सरेको उनले बताइन् । हिउँद सकिनै लाग्दा फागुन अन्तिमतिर भोटे समुदाय अस्थायी टेन्टको बास छाडेर घर फिर्छन् ।

साभारः कान्तिपूरअनलाइन