
साउन, १७, सुर्खेत। प्रत्येक बर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाईने घण्टाकर्ण पर्व अर्थात गठेमङ्कगल पर्व बिहिबार सुर्खेत जिल्लाको वीरेन्द्रनगर १७ लाटीकोईलीमा पनि मनाईयो । घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकाका नेवार समुदायले गठेमङ्कगलका रुपमा मनाउने भएता पनि सुर्खेत जिल्लाको लाटीकोईलीमा सबै समुदायका व्यक्तिहरु मिलेर मनाउने परम्परा रहदै आएको छ । बि.स. २००९ साल देखि गोठीकांडा र बयलकांडामा बसोवास गर्ने नेवार समुदायका साथै अन्य समुदायले गठेमङ्कगल पर्वका दिन देखि शुरु हुने लाखे नाच, गाई–जात्रा, रोपाई जात्रा र कृष्णजन्माष्टमी जस्ता जात्राहरु मनाउदै आई रहेको परम्परालाई यथावत् राख्दै लाटीकोईलीमा पनि प्रत्येक बर्ष जात्राहरु मनाउदै आईरहेको छ ।
केही समय अघि सम्म सुर्खेत जिल्लाको बिभिन्न स्थानहरु लाटीकोईली, गुप्तीपुर र गणेशचौकमा जात्राहरु मनाउने गरेता पनि हाल आएर गणेशचौक र गुप्तीपुरमा यो जात्रा लोप हुदै गईरहेको पाईएको छ । नेवाः देय्ः दबु जिल्ला कार्य समितीका अध्यक्ष जीवनकुमार शाक्यका अनुशार गथांमुगः लाई घण्टाकर्ण भनी गाँठे मङ्गल पनि भन्छन् जुन सहि होईन । गथांमुगः भनेको दोवाटो–दोवाटो, चौवाटो र चौक इत्यादी भन्ने हो ।
कृषकहरुको खेति बिग्रेमा वा खेती किसानी गर्न नपाएमा बर्षभरीको लागी अन्न–वाली पु¥याउन सकिन्न थियो र अन्न संकट हुन सक्थ्यो । त्यसैले यो काम मरी–मरीकन जसरी भए पनि किसानहरुले गर्नु नै पर्दथ्यो । भनिन्छ रोपाइको बेला घरमा कोही व्यक्ति मरे भने पनि त्यस लाशको सतीगती समेत नगरी रोपाइ नसके सम्म लाशलाई मान्द्रोमा बेरी एक कुनामा थन्क्याउँदै सबै परिवार रोपाईमा नै व्यस्त हुन्थे र रोपाइ सकिसकेपछि मात्र त्यस लाशको सतगति काजक्रिया गरिन्थ्यो ।
त्यसैले यस दिन आ–आफ्नो टोलको छवासमा नर्कट बाँसको तीन मुठालाई उठाएर बिहानै देखि चौवाटोहरुमा ठड्याई त्यस नर्कटवाँको मुठामा डरलाग्दो भूत वा भूतनीको आकृति बनाई, टासि सम्पुर्ण टोलवासीहरु सबै मिलि त्यसमा बिभिन्न तान्त्रिक पुजा गरी दहि चिउरा खुलाई एक मुठा पराल बाली त्यस नर्कटको झ्याङ्गलाई तीन पल्ट परिक्रमा गरी सबै मिली त्यस भुतलाई खोलामा लगी मिल्क्याई बहाउने काम गरिन्छ । खोलामा बहाई सकेपछि ती तान्ने सबैले मुख धोई घर फर्कने चलन रहेको जानकारी दिनुभयो ।
यसैगरी नेवाः देयः दबुका जिल्ला कार्य समिती सुर्खेतका सदस्य सुरेश मानन्धरका अनुशार लाटीकोईलीमा गठेमङ्कगलको दिन देखि कृष्णजन्माष्टमीको भोली पल्ट लाखे नकाट्ने बेला सम्म शिबबिहार पुस्तकालय, लाटीकोईली समाज र समाजका बृद्ध–बृद्धा , बुद्धिजीवी लगाएत सम्पुर्ण युवाहरु मिली घर–घरमा गई लाखे नाँच नचाउने, बिबिध खाले पर्व र जात्राहरु (गाईजात्रा, रोपाईजात्रा, कृष्णजात्रा र हरितालिका जात्रा ) देखाई रमाईलो गर्दे आएको र यस बर्ष पनि सोही अनुरुप जात्राहरु मनाउने गरेको बताउनुभयो ।



Milan Shrestha । १८ श्रावण २०७३, मंगलवार ०३:५५ बजे