
४ सावन । नेपालगंज । मुलुुकको सबैभन्दा जेठो पत्रिका गोरखापत्र दैनिक प्रदेश नम्बर ५, ६ र ७ लाई लक्षित गरेर बाँकेको कोहलपुरबाट प्रकाशनको तयारी सुरु भएको छ । छापाखाना राखेर पत्रिका प्रकाशन गर्नका लागि गोरखापत्र संस्थानले प्रदेश नम्बर ५ अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ मैटहवामा मङ्गलबार एक बिघा जग्गा खरिद गरेर सो तयारी सुरु गरेको छ ।
जिल्ला मालपोत कार्यालय बाँकेका अधिकृत रेखा श्रेष्ठले मङ्गलबार गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालालाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गर्नुभयो । सो जग्गा स्थानीय तीन जना जग्गाधनीबाट टेन्डर प्रक्रिया पूरा गरी खरिद गरिएको हो ।
जग्गा खरिद गरिएपछि कोहलपुरबाट पत्रिका प्रकाशन गर्ने कार्य अगाडि बढेको संस्थानका महाप्रबन्धक कोइरालाले बताउनुभयो । पश्चिम नेपालको प्रदेश नम्बर ५, ६ र ७ का सबै शहर र गाउँपालिकामा समेत गोरखापत्रलाई बिहानै पाठकका हात हातमा पु¥याउने उद्देश्यले कोहलपुरमा छापाखाना स्थापना गरेर पत्रिका प्रकाशित गर्ने उद्देश्यले कोहलपुरको मैटहवामा एक बिघा जग्गा खरिद गरिएको कोइरालाले बताउनुभयो ।
तत्काल कोहलपुरमा छापाखाना स्थापना गरिने बताउँदै उहाँले राजधानी काठमाडाँैपछि विराटनगर हुँदै कोहलपुरमा पत्रिका प्रकाशन गरिने लक्ष्य रहेको जनाउनुभयो ।
विराटनगरमा पत्रिका प्रकाशनका लागि भौतिक पूर्वाधार तयार भइरहेको तथा प्रेस खरिद प्रक्रिया अगाडि बढिसकेको गोरखापत्र संस्थान सञ्चालक समितिका सदस्य दुर्गा भण्डारीले बताउनुभयो ।
उहाँले अहिले पूर्व र पश्चिमको दुई ठाउँबाट पत्रिका प्रकाशन गर्ने कार्यलाई अगाडि सारिए पनि भविष्यमा हरेक प्रदेशबाट गोरखापत्रको प्रकाशन गर्ने योजना संस्थानको रहेको जनाउनुभयो ।
यसअघि सो जग्गा खरिद गर्नका लागि गोरखापत्र संस्थानका महाप्रबन्धक कोइरालाको नेतृत्वमा संस्थान सञ्चालक समितिका सदस्य दुर्गा भण्डारी, प्रशासन विभागका निमित्त निर्देशक सोमबहादुर घले, अर्थ विभागका निमित्त निर्देशक रामसुन्दर चौधरी र सामान्य प्रशासन शाखा प्रमुख भगिरथ बस्नेतसहितको पाँच सदस्यीय टोली बाँकेमा आएको थियो ।
टोलीले कोहलपुर मैटहवास्थित उक्त जग्गाको स्थलगत निरीक्षण गरेर जग्गाबारे जानकारी लिनुका साथै स्थानीय बासिन्दासँग पनि छलफल गरेको थियो ।
कोहलपुर नगरपालिकामा जग्गा खरिद गरेर गोरखापत्र संस्थानले पत्रिका प्रकाशन गर्न लागेको सुन्दा आपूmलाई निकै खुशी लागेको र यो सम्पूर्ण क्षेत्रका लागि सुखद कुरा भएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताउनुभयो ।
साभारः गोरखापत्रअनलाइन



Prawash Kumar Shakya । ४ श्रावण २०७४, बुधबार ०५:०१ बजे