
२९ साउन, सुर्खेत । शुक्रबार राति देखिको अविरल वर्षापछि आएको पहिरोले घर बगाउँदा सुर्खेतमा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
सदरमुकाम वीरेन्द्रनगरबाट पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार पहिरोले घर बगाउँदा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उनका १४ वर्षीय नाती बिक्रम बुढा र १२ वर्षीय सरन बुढाको मृत्यु भएको छ ।
गएराति १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ ।
पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आज विहान निकालेको छ ।
रत्नराजमार्ग पनि अवरुद्ध
लगाताकारको वर्षाले रत्नराजमार्ग अन्तरगत हर्रे–कोहलपुर सडक खण्डमा पहिरोजाँदा सडक अवरुद्ध भएको छ । भेरीगंगा नगरपालिकाको हर्रे नजिकै गएराति पहिरो जाँदा सवारीसाधन ठप्प भएका छन् ।
सुर्खेत प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि यात्रुहरुलाई सास्ती भएको छ । बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको छिन्चु प्रहरीले जानकारी दिएको छ ।
साभारः अनलाइनखबर
Prawash Kumar Shakya । २९ श्रावण २०७४, आईतवार ०७:५४ बजे