प्रदेशका मन्त्रीको सम्पत्ति अझै अज्ञात, विप्लव र सीके राउत सेनाको निगरानीमा


१५ जेठ, काठमाडौं ।

राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषयहरु परेका छन् । केहीले राजनीतिक विषयमा बढी जोड दिएका छन् भने कुनैको प्राथमिकतामा बजेट, सुशासनलगायत परेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच भएको दुई बुँदे सहमतिलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले नछुटाइकन लेखेका छन् । पत्रपत्रिकाहरु सबैको सार सहमतिसँगै फोरमलाई केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने बाटो खुलेको भन्ने छ ।

सरकारले आज आर्थिक वर्ष २०७५–७६ को बजेट ल्याउँदै छ । पत्रपत्रिकाहरुले यसबारे चासो राख्दै सामग्री पस्केका छन् । कान्तिपुर दैनिकले प्रदेश र स्थानीय तहलाई एक तिहाइ रकम दिन लागिएको जनाएको छ भने नयाँ पत्रिकाले बजेटको प्राथमिकताबारे चर्चा गरेको छ ।

गणतन्त्रकाे १० वर्षको विश्लेषण पनि आजका पत्रपत्रिकाहरुमा पढ्न सकिन्छ । बितेका ११ वर्षमा पात्र फेरि पनि प्रवृत्तिमा नयाँपन नआएको पत्रपत्रिकाहरुको निचोड छ ।

यसका अतिरिक्त प्रदेशका प्रदेशले १०० दिन कट्दा समेत सम्पत्ति विवरण नबुझाएको, सीमाका १६ स्तम्भ हराएकोलगायत खबरलाई पनि आज उत्तिकै महत्त्वका साथ समेटेका छन् ।

विप्लव र सीके राउत समूह सेनाको निगरानीमा

नेपाली सेनाले नेत्रविक्रम चन्द विप्लव र सीके राउत समूहलाई निगरानीमा राख्ने भएको छ ।

कान्तिपुरका अनुसार, नेपाली सेनाले मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे विश्लेषण गर्दै यी दुई समूहलाई शान्ति सुरक्षाका चुनौतीका रुपमा चित्रण गरेको हो ।

कान्तिपुर दैनिकका अनुसार सैनिक मुख्यालय, जंगी अड्डामा दुई दिन चलेको पृतनापति समन्वयात्मक बैठकमा यस्तो विश्लेषण गरिएको हो ।

विप्लव र सीके राउत समूह शाश्न्ति र स्थिरतामा चुनौतीका रुपमा रहन सक्ने देखिएको छ,’ बैठकमा सहभागीको भनाइ उद्धृत गर्दै कान्तिपुरले खबरमा लेखेको छ ।

आन्तरिक सुरक्षाको जिम्मा नेपाल प्रहरीको भए पनि सेनाले उनीहरुको गतिविधिलाई आफ्नै तबरले नियालिरहेको सैन्य अधिकारीहरुले बताएका छन् ।

उम्किएकाहरु फेरि सुन तस्करीमा

डेढ वर्षअघि बरामद ३३ किलो सुन तस्करी प्रकरणमा उम्किएकाहरुले नै त्यही धन्दालाई निरन्तरता दिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

अहिलेको सुन तस्करी काण्डका मुख्य आरोपित गोरे भनिने चूडामणि उप्रेतीसहितका व्यक्ति नै अघिल्लो प्रकरणमा समेत आरोपित थिए , तर विभिन्न कारण देखाउँदै उनीहरुविरुद्ध मुद्दा चलाइएन ।

मुद्दाका प्रतिवादी सूचीबाट उम्किएपछि उनीहरु फेरि तस्करीमा सक्रिय भएको पछिल्लो प्रकरणको अनुसन्धानमा खुलेपछि उनीहरुमाथि गत वर्षकै मुद्दामा समेत जिल्ला अदालत काठमाडौंमा आरोपपत्र पेश गर्ने तयारी भएको समाचारमा उल्लेख छ ।

सगरमाथामा शेर्पाको मृत्यु रहस्यमय

३० वैशाखदेखि शुरु यस वर्षको सगरमाथा आरोहण ११ जेठमा आएर टुंगिएको छ । यो याममा ४ सयभन्दा बढीले आरोहण गरेको तथ्यांक नेपाल सरकारले सार्वजनिक गरेको छ । चार युक्रेनी नागरिक र एक शेर्पासहितको एउटा आरोहणको प्रयोजनका बारेमा भने सरकार बेखबर छ ।

कान्तिपुर दैनिकका अनुसार त्यही आरोहण दलका गाइड ४५ वर्षीय लामबाबु शेर्पाको मृत्यु त झनै रहस्यपूर्ण छ । बेलायती पत्रिका फाइनान्सियल टाइम्सले शेर्पाको मृत्युलाई लिएर शंका प्रकट गरेको छ ।

पर्वतारोही तथा सगरमाथा आरोहणमाथि ब्लग लेख्दै आएका अमेरिकी नागरिक एलेन आरनेटले शेर्पाको मृत्युलाई रहस्यमय बताएपछि पत्रिकाले थप अनुसन्धान गरेको समाचारमा उल्लेख छ ।

प्रदेश ३ को नाम नेपाल मण्डल

प्रदेश ३ को नाम ‘नेपाल मण्डल’ राख्ने पक्षमा आन्तरिक तयारी भइरहेको समाचार कान्तिपुरले छापेको छ । सभासद् वसन्त मानन्धरले प्रदेश ३ को नाम नेपाल मण्डल राख्ने पक्षमा आन्तरिक तयारी भइरहेको बताएका हुन् ।

मानन्धरका अनुसार राजधानी सार्ने चर्चा पनि चलेको छ ।

प्रदेश मन्त्रीको सम्पत्ति अझै अज्ञात

सार्वजनिक पद धारण गरेको व्यक्तिले पदमा बहाल रहेको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था छ । यस्ता व्यक्तिले आफू र आफ्नो परिवारका सदस्यको नाममा रहेको नगद र जिन्सी सम्पत्तिको स्रोत र निस्सासहितका अद्यावधिक विवरण सार्वजनिक गर्नुपर्छ ।

नयाँ पत्रिका लेख्छ– तर सातवटै प्रदेश सरकार गठन भएको सय दिन नाघिसक्दा पनि मुख्यमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । कुनै प्रदेशका मन्त्रीले अहिलेसम्म विवरण बुझाएकै छैनन् भने कतिपयले प्रदेशका मन्त्रीहरुको सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गएर अड्किएको छ । अनलाइनखबरबाट