सबै माओवादीसँग एकता गर्ने एमाओवादी निर्णय, बैद्य माओवादी अझै अनिर्णित


२९ बैशाख काठमाडौँ- एनेकपा (माओवादी) ले विभाजित सबै माओवादी पार्टीसँग एकता गरेर अघि बढ्ने औपचारिक निर्णय गरेको छ। वुधबार बसेको एमाओवादी स्थायी समिति बैठकले विभाजित माओवादीलाई एक ठाउँ ल्याउन प्रतयत्न गर्ने निर्णय गरेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको बैठकले बैद्य माओवादीसँगको एकतालाई अन्तिमरुप दिन जेठ १ गते पार्टी केन्द्रीय समिति बैठक बोलाएको शर्माले बताए। ‘एकता पछिको केन्द्रीय समिति संख्या र पदाधिकारीबारे जेठ १ गते बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिने छ’, शर्माले भने, ‘अन्य माओवादीसँग एकताको बारेमा पनि उक्त बैठकले योजना बनाउने छ।’

केही समय देखि दुवै पार्टीबीच एकताका लागि छलफल चलिरहेको छ। एनेकपा माओवादीमा एकताको लागि एक मत देखिए पनि बैद्य माओवादीमा भने नेताहरु विभाजित छन्। महासिचव रामबहादुर थापा तुरुन्तै एकताको पक्षमा देखिएका छन् भने अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपि गजुरेल लगायत यसको विपक्षमा छन्।

बैद्य माओवादीले एकताबारे छलफल गर्न मंगलबार केन्द्रीय समिति बैठक आयोजना गरेको भएता पनि बस्न सकेन। आज साँझ सम्म एउटा निर्णयमा पुग्ने बैद्य माओवादी प्रवक्ता पम्फा भुषालले नागरिकन्युजलाई जानकारी दिइन्।

बैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी (माओवादी) समेत विभाजन भएर नेत्रविक्रम चन्दको नेतृत्वमा नेकपा माओवादी गठन भएको छ।

साभारः नागरिक अनलाइन