ठुली भैलो बचाउदै जुम्लाका युवा


हरिकृष्ण कुमाई
पौष ५, जुम्ला । बाह्रौ शताब्दी तिर जुम्लाका राजा बलिराजको पाला देखि शुरु भएको हिउँदे भैली खेल्ने चलन हराउँदै जान थालेपनि स्थानीय युवाहरुले भैलो संरक्षण अभियान थालेका छन । प्राज्ञिक विद्यार्थी परिषद नेपाल जुम्ला नगर समितीमा आवद्ध युवाहरुले भैलो संरक्षण अभियान थालेका हुन ।

दशक अघि सम्म हिउँद महिनामा खेलिने भैलोलाई स्थानिय स्तरको महत्वपूर्ण पर्वको रुपमा मानिन्थ्यो । जुम्लाका महिला र पुरुषहरुमा खस परम्परा अनुरुप छुट्टा छुट्टै भैलो खेल्ने चलन छ । भैलोमा, युवा, महिला, बालबालिका र बृद्धबृद्धाहरु पनि छावल मिलाएर भैली खेल्न जाने चलन छ । भैलो खेलेर सकिए पछि संयुक्त भोजको आयोजना गरि एक आपसमा रमाईलो साटासाट गरेर भैलो सम्पन्न गर्ने चलन छ ।

प्राज्ञिक विद्यार्थी परिषद नेपाल जुम्ला नगर समितिका सचिव धिरेन्द्र काफ्लेले परम्परागत भैलो जोगाउनको लागि युवाहरु अहिले कम्मर कसेर लागेको बताए । फुर्सदको हिउँदे मौसमलाई मध्यनजर गर्दै मंसिर पुर्णिमामा सानी भैली सकाएर पुस कृष्ण प्रतिपदावाट ठुली भैली शुरु हुने गरेको जुम्लाका सँस्कृति सम्वन्धी जानकार रमानन्द आचार्य बताउँछन । हिउँदको समयमा फुर्सद मिल्ने भएकोले यसलाई किसानको थकाई मेट्ने चौतारी मानिदै आएको छ ।

भैलो एक प्रकारको मनोरञ्जन गर्ने साधन भएपनि यसको आफ्नै मौलिक महत्व रहेको र हिउँद महिनामा कुनै पनि चाडपर्व नहुने भएकोले न्याश्रो पनालाई हटाउन हिउदै भैली खेल्ने चलन शुरु भएको रमानन्द आचार्य बताउँछन् । भैलीमा केहि आशा गरिएको हुन्छ, आर्शिवाद वचन प्रदान गरि घरभेटी र भैलेरा भैलेरी विच सम्वन्ध निकै सुमधुर बनाउने प्रयास हुन्छ ।

 

पछिल्लो समयमा भैलेरा भैलेरीले आफु अनुकुलको दक्षिणा माग्ने चलन बसेकोलेे समस्या आउने गरेको पाइएकोछ । महिलाले फरिया लगाउने, आँचला हाल्ने, गृह लठ्ठी हातमा लिएर भैली खेल्ने चलन छ । भैलो खेलेर संकलन गरेको रकम भैलो समाप्तीका बेला भोज खाएर मनोरञ्जन गर्ने प्रचलन रहिआएको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपाल जुम्लाले भैलो खेलेर संकलन गरेको रकमलाई सामाजिक कार्यमा खर्च गर्ने बताएको छ ।

विशेष गरी भैली खेलेर संकलनम भएको रकमलाई शिक्षा क्षेत्रमा खर्च गर्ने प्राज्ञिक विद्यार्थी परिषद् नेपाल जुम्लाका सचिव काफ्लेले बताए । हाल ५० प्रतिशत चलन ह्रास भइसकेको छ सस्कृती सम्वन्धी जानकार भानु चौलगाईले ले भने आयतित आधुनिक संस्कृतिका कारण स्थानिय भैलो संस्कृति हराउन थालेको हो । अहिले वालवालिका वाटोमा हिड्ने वटुवालाई भैलो माग्ने भन्दै लछार पछार गर्छन उनले भने भैलो भित्र सिर्जना भएको समस्या मौलाउन दिन हुदैन ।
भैलोमा जुम्ली समाजको चित्र मिसिएको छ । तर सडकमा सवार सवारी र यात्रुलाई रोकेर दक्षिणा माग्ने र नदिए गाली गर्ने गरिन्छ यो भैलोको मर्यादा भित्र पर्दैन । शुद्ध मनोरञ्जनका लागि खेलिने भैलोको अस्तित्व मेटिदै गएकोमा चौलगाई चिन्ता व्यक्त गर्छन ।

राजा रजौटाका पालामा बाज (चिल) समात्ने र बाज पालेर वेच्ने, तिनीहरुलाई युद्धकला सिकाई एक अर्काको देशका बाज लडाएर मनोरञ्जन गर्ने हिसावले भैलो शुरु गरिएको किवदन्तीमा उल्लेख छ । १६ वर्षमुनिकाले सानी भैली खेल्ने र वुढापाकाहरुले खेलिने ठुली भैलीलाई छाँट भैली भनिन्थ्यो । यो सँस्कृति हराउदै गएकोमा पहिचान समाप्त हुदै जाने पछिल्लो समयमा चिन्ता वढेको छ । कर्णालीका सवै जिल्लामा भैली खेलिन्छ । भैलोमा रुपैया, चामल, चिउरा, ओखर दक्षिणाको रुपमा प्रदान गरिन्छ ।

भैलो सँस्कृतीलाई स्थानिय पाठयक्रममा समावेश नगरिए लोप भएर जाने जानकारहरु बताउँछन । महिलाहरुले लामो लयमा मागल गाए जस्तो गरि गाउने र पुरुषहरुले छोटो तरिकाले गाउने चलनछ । लामो लस्करै लागेर सेताम्य हिउ परेको वेला घरको ओटालीमा वसेर भैली गित गाईन्छ । साँस्कृतिक केन्द्र खोलेर अनुसन्धान नगरे सम्म भैलो संरक्षणमा कठिनाई आउने सँस्कृति विदहरुको भनाईछ ।

कर्णालीका युवाहरुले पुष महिनामा खेलिने ठूली भैलो खेल्न नजान्दा यहाँका जेष्ठ नागरिकहरु आफ्नो संस्कृति हराउदै गएको भन्दै चिन्तित हुन थालेका छन् । पुस महिनामा फुर्सद हुने, सवैले सवै कामहरु सकाएर बसिरहेको वेला सवै मिलेर रमाइलो गर्ने हिसावले जुम्लामा कल्याल राज्यको पाला देखि हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन रहिआएको हो ।

हिउँद कटाउनको लागी खेलिने पर्व भएकोले यसका राम्रा पक्षहरुलाई अगाल्दै संस्कृतिको संरक्षण तर्फ लाग्नु पर्ने लक्ष्मि नारायण अधिकारीले बताए । केहि सँस्कृति प्रेमीलेे मात्रै यो भैलो संरक्षण गर्नका केहि ठाँउमा खेल्ने गरेको अधिकारीले बताए ।