
– हरिकृष्ण कुमाई
२०७४ को पुस १५ शनिवार पुस पन्ध्रको रातलाई जुम्लावासीले विशेष महत्वका साथ मनाउँदै छन। वर्षौ लामो रात पुस पन्ध्रमै भएकोले रातभरी नसुतेरै बस्ने परम्परा रही आएको छ । त्यही परम्परा अनुसार यहाँका स्थानीय रातभर जाग्राम बसेर मनाउन लागेका हुन । वर्षै लामो रात भएकोले रात भर नसुतेरै जाग्राम बसेमा आयु पनि लामो हुने जनविश्वास रहीआएको छ ।
सवै भन्दा लामो रात पुस पन्ध्र गते हुने र लामो रातमा ननिदाईकन विताएमा आयु पनि निकै लामो हुने चन्दननाथ नगरपालिका १ तलिचौरका नन्द प्रसाद न्यौपानेले वताए । उनका अनुसार रातभर केटीकेटी र वुढावुढी विचमा स्थानिय भाषामै देउडा गाउँने चलन थियो । पुस पन्ध्र मनाउन पोईली घरवाट आएका चेलीबेटीहरुले खेतवारीको फोक्टोमा गएर भोज खाए, देउडा खेलेरे र रमाइलो गर्ने चलन रहेको छ ।
१५ गते दिनभर सामुहिक भोज खाने र रातभरी रमाईलोका साथ वस्ने चलन छ । सेलरोटी पकाउने, खाजा भुट्ने, गेडागुडि, माछामासु पकाउने, हलुवा पकाएर खाने गरिन्छ । जुम्लाको राधे फर्सी पकाउने र रातभरी हासखेल गर्ने गरिन्छ । १६ गते विहान पख घरवाट निस्केर धारा वा नदीमा गएर नुहाई धुवाई गर्ने गरिन्छ । यसको महत्व विस्तार घट्दै गएपनि संस्कार बचाई राख्नको लागि सवैको ध्यान पुग्न जरुरी रहेको चन्दननाथ नगरपालिका १४ का कमला देवि देवकोटाले वताईन ।
अधिकाँश घरमा पुस १५गते राति गहुँको पिठोवाट मालपुवा खाईन्छ । सामुहिक रुपमा नुन तेल, दाल, चामल संकलन गरेर घर नजिकैको मैदानमा भोज खाइने चलन रहेको छ । पुरुषहरु भएको स्थानमा महिलाहरुले पुरुषहरुको दौरा सुरुवाल लगाएर नचिनिने गरि परिकार माग्ने गरिन्छ । महिलाहरु भएको स्थानमा पुरुषहरुले महिलाको भेष धारण गरेर लाटालाटीको रुपमा परिकार माग्न जाने रही आएको छ । कतै कतै ठाउँमा पर्खालको प्वालवाट लठि्ठ भित्र छिराउने र लठि्ठीमा परिकार वाधेर पर्ठाईदिने चलन पनि रही आएको पाइन्छ ।
जुम्लामा पुस १२ गते वेल्कुडी माईत गएर पुस पन्ध्रको रात विताएर १६ गते पोईली घर र्फकने भएकोले यहाँ पनि माईत आएकी छोरी पोईल जाने चलन छ । वेल्कुडी १६ गते हिउ माईतबाट ल्याएर आउने र सवै भन्दा वढि हिउ परेमा त्यो वर्ष निकै उत्पादन हुने विश्वास छ । पुस १५मा महिला दिदी वहिनीहरु भेला हुने गर्छन । १वर्षमा हुने महिनै भरी कामको वोझमा रहेकी दिदी वहिनी फुर्सदिलो समय पुस महिनाको १५ निकै धुमधामका साथ रात विताउने गर्छन्।
Prawash Kumar Shakya । १५ पुष २०७४, शनिबार १६:१० बजे