सिसि क्यामराले काम गरेन
हरि कृष्ण कुमाई,
जुम्ला पुस १६,
कर्णालीको जुम्लामा रहेको प्रशिद्ध धार्मिक स्थल चन्दननाथ मन्दिरमा मुर्ति चोरी भएसंगै मन्दिर भित्रका क्रियाकलाप निगरानीका लागि जडान गरिएको सिसि क्यामराले काम नगर्दा समस्या देखिएको छ । सिसि क्यामरा जडान गरिएको १ वर्ष भै सक्दा एउटा पनि फुटेज रेकर्ड हुन सकेको छैन ।
जुम्ला बजारको मुटुमा अवस्थित चन्दननाथ मन्दिर भित्र भएका गतिविधिलाई प्रत्यक्ष निगरानी गर्नको लागि सिसि क्यामरा जडान गरिएको छ, तर प्रयोगमा आएको छैन । सिसि क्यामराको लागि आवश्यक पर्ने सौर्य उर्जाको व्यवस्था नहुँदा घाम नलागेको दिनमा सिसि क्यामरा चल्दैन । मन्दिर आसपासका क्षेत्रमा ७ वटा सिसि क्यामरा जडान गरिएको छ, चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितीका अध्यक्ष तारासिंह कठायतले भने, फुटेज रेकर्ड गर्ने डिभिआर मेसिन नहुँदा सिसि क्यामेरा हात्तीको देखाउने दाँत मात्र भएको छ ।
स्थानीय प्रशासनले हवलदारको नेतृत्वमा सुरक्षा विट स्थापना गरेको छ । सिसि क्यामरा मन्दिरका हरेक क्रियाकलाप निगरानी गर्न राखिएको हो, अध्यक्ष कठायतले भने तर रेकर्ड भने नहुँदा सिसि क्यामरा जडान गरेको अर्थ छैन । मन्दिर सुरक्षाको कुनै अनुभुति नै छैन ।
मन्दिर भित्र वस्ने पुजारी र झक्तहरुले तत्काल रेकर्ड सिस्टम जडान गरेर सुरक्षाको अनुभुति दिलाउन माग गरेका छन । स्थानीय प्रशासन, जिल्ला समन्वय समिती र गुठि समितीको समन्वयात्मक भुमिका कम स्थानीय बताउँछन् ।
तत्कालिन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको पहलमा जिल्ला समन्वय समितिबाट १०लाख रुपैया बजेट व्यवस्था गरेर सिसि क्यामरा जडान गरि मन्दिर सुरक्षामा राम्रो पहल भईरहेको थियो, सरकारले प्रजिअ पण्डितको सरुवा गरेसंगै मन्दिरको सुरक्षा व्यवस्थामा कमजोरी भएको गुठी समितिका खरिदार रत्नप्रसाद आचार्यले बताए ।
संसदकोषको १० लाख वाट मन्दिरमा चर्पी, धारा,पुजारी वस्ने कोठा, सुरक्षाकर्मी वस्ने कोठार्,मर्मत गरिएको थियो । स्थानीय विकास अधिकारी हरिनारायण वेल्वासेले ३ लाख ७० हजार रुपैया निकासा नगरि गएपछि अहिले सम्म गुठि समितीले बजेट पाउन सकेको छैन । मन्दिरवाट गत २०७३ मंसिर ११ गते २८ वटा मुर्ति चोरी भएका थिए । अहिले सम्म ७ धार्निको चाँदीको बहुमुल्य मुर्ति लागाएत ६ वटा मुर्ति भेटिएका छैनन ।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले आफुलाई मन्दिरको सिसि क्यामराले काम नगरेको विषयमा कुनै जानकारी नभएको बताउँदै सिसि क्यामराको अवस्थाका बारेमा बुझेर गुठि समितीको वैठक आव्हान भईसकेको प्रतिक्रिया दिए । उनले भने, धार्मिक आस्थाको एकमात्र धरोहर चन्दननाथ मन्दिर भएकोले मन्दिर र मन्दिर भित्रको मुर्ति सुरक्षा गर्ने दायित्व स्थानीय प्रशासन कार्यालय जुम्लाले पुरा गरेको छ ।
मन्दिरको मुर्ति चोरीको अनुसन्धान गर्ने जिम्मा केन्द्रिय अनुसन्धान व्युरोले लिएपनि प्रभावकारी अनुसन्धान हुन नसकेको स्थानीय बताउँछन । गुठि समितीले नेताको दवाव र प्रभावमा परेर सिआईबीले अनुसन्धान अघि नवढाएको आरोप लगाएको छ । अध्यक्ष कठायतले भने,अनुसन्धानका वारेमा हामी जानकार छैनौ, अनुसन्धान प्रतिवेदन सार्वजनिक भएर दोषीलाई कार्वाही गर्न माग गर्दछौ ।
मुर्ति चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले चन्दननाथ १ का जयकृष्ण आचार्य र मन्दिरका पुजारी चन्द्र मौलेश्वर गिरीलाई जेल चलान गरिसकेको छ ।



Prawash Kumar Shakya । १६ पुष २०७४, आईतवार २१:१५ बजे