गति लिदैं कर्णाली करिडोर


६६ किलोमिटर निर्माण पुरा, सडक सञ्जालमा जोडिदैं हुम्ला

कर्णाली करिडोर अर्न्तगत कालिकोटको लालीघाटमा जीप गुड्दै ।

पवित्रकुमार शाही
कालिकोटः डेढ दशकसम्म अलपत्र रहेको कर्णाली करिडोर अर्न्तगत कालिकोटको खुलालुदेखि हुम्लाको सिमिकोट जोड्ने सडक निर्माण कार्यले गति लिएको छ । करिडोर अर्न्तगतको १ सय ९६ किलोमिटरमध्ये ६६ किलोमिटर सडक निर्माण कार्य पूरा भएको हो । सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएपछि यसले गति लिएको हो । अहिले धमाधम सडक निर्माण कार्य भइरहेको छ ।

कालिकोटको लालीघाटदेखि घाटपारीचौरसम्म ३३ किलोमिटर र बाजुराको राताडाँडादेखि अर्थुगेचौरसम्म ३३ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो । एक सय ९६ किलोमिटरमध्ये खुलालुदेखि सिमीकोटसम्म ६६ किलोमिटरमा गाडी संचालन गर्न सकिने नेपाली सेनाको निर्माण कार्यदलले जानकारी दिएको छ । हाल लालीघाटदेखि घाटपारीचौरसम्मको ३३ किलोमिटरमा मात्र गाडी संचालनमा आएका छन् ।

भुक्काखोलाको भीर फोडेमा करिव ७० किलोमिटरसम्म गाडी संचालन गर्न सकिने नेपाली सेनाको निर्माण कार्यदलका प्रमुख इन्दीवर गुरुङ्गले बताए । ‘भुक्काखोलादेखि तोलीभीरसम्म ४ किलोमिटर भीर फोड्न बाँकी रहेको छ’ उनले भने, ‘यो भीर फोडियो भने ७० किलोमिटरसम्म निर्माण कार्य पुरा हुनेछ । हालसम्म ६६ किलोमिटर कार्य पुरा भएको छ ।’

जोडिदै हुम्ला

पछिल्लो समय नेपाली सेनाले सडक निर्माण कार्यलाई तिब्रता दिएको छ । निर्धारित समयभित्र सम्पन्न गर्नेगरी काम भइरहेको सेनाले जनाएको छ । अहिलेकै गतिमा काम भएमा राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा चाँडै सडक पुग्ने विस्वास लिइएको छ । कर्णाली करिडोर अर्न्तगतको हिल्सा-सिमीकोट खण्डको निर्माण गर्न बाँकी दुरी छोटिदै गएको छ । हिल्सा-सिमीकोट सडकखण्डको ९ किलोमिटर मात्र निर्माण हुन बाँकी रहेको सडक आयोजनाका प्रमुख विजयकुमार थापाले बताए ।

९५ किलोमिटर लम्बाइ भएको यो खण्डमा हिल्सादेखि दक्षिण नाम्खा गाउँपालिकाको ओखरथलासम्म १५ किलोमिटर सडकमा ट्रयाक खुलेपछि गाडी आउजाउ गर्न थालेका छन् । सडक आयोजना प्रमुख थापाका अनुसार तुम्कोटस्थित कर्ण्ााली नदीमा यो वर्ष’बेल्रि्रीज’ निर्माण भएपछि हिल्सादेखि ओखरथलासम्म गाडी चल्न सहज भएको हो । ओखरथलामा गत वर्षै ट्रयाक खुलिसकेको थियो ।

यसअघि कर्णाली नदीको पुल नबन्दा हिल्सादेखि तुम्कोटसम्म ३८ किलोमिटर मात्र गाडी गुड्ने गरेका थिए । ‘हिल्सादेखि ओखरथलासम्म सडक खुलेपछि गाडी गुड्न थालेका छन्’ उनले भने, ‘अहिले आधा दर्जन गाडी गुड्न थालेका छन ।’
बजेटको अभाव छैन ।

कर्णाली करिडोर निर्माणका लागि नेपाल सरकारले १ अर्ब ४८ करोड ११ लाख १६ हजार बजेट विनियोजन गरेको छ । खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको एक सय ४५ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । विगतका वर्ष बजेट अभावले काम बन्द हुने भएपछि नेपाली सेनालाई निर्माणको जिम्मा दिएको हो । रकम धेरै लगानी, काम शून्य भएपछि सडक विभागले सेनाको जिम्मा लगाएको जनाइएको छ ।

सेनाले जिम्मा नलिनु पूर्व ठेकेदारको लापरवाहीले काम नगर्दा करोडौ बजेट फ्रिज जाने गरेको थियो । करिडोरको खुलालु-हुम्ला सिमिकोटमा सडक विभागले आर्थिक वर्ष २०६५/०६६ देखि काम सुरु गरे पनि लक्ष्यअनुसार कामको प्रगति देखिएको थिएन । कर्णाली करिडोर सडक निर्माण पूरा भएपछि कर्णालीपारिका तत्कालिन १७ गाविससहित बाजुरा, मुगुको पश्चिम भेग र हुम्लाबासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

करिडोरको काम २०७६ भित्र सम्पन्न गर्ने नेपाली सेना सडक निर्माण कार्यदलका प्रमुख कर्णेल इन्दीवर गुरुङ्गले जानकारी दिए । सडक निर्माणका लागि सरदर प्रतिकिमि ७० लाख लागत पर्ने कर्णेल गुरुङ्गले जनाए ।

सडक निर्माणले गति लिएपछि स्थानियवासी पनि खुसी भएका छन् । गत जेठ २२ गते कर्णाली करिडोरको जिते-लालिघाट हुँदै रेगिल, जारकोटसम्म जीप पुगका छन् । करिडोरकै सबै भन्दा अप्ठेरो चट्टान लालिघाटदेखि रेगील शान्नीगाडसम्मको भए पनि १ वर्षभित्रै गाडि गुडाएपछि स्थानीय हर्षित भएका हुन् । वि.स.२०५७ सालमा नेपाल सरकारका तत्कालिन उपप्रधानमन्त्री रामचन्द्र पौडेलले सिलान्यास गरेको कालिकोटको खुलालुदेखि हुम्लाको सिमिकोटसम्मको १९२ किलोमिटर सडकखण्ड १५ बर्षम्म अलपत्र परेको थियो ।

समृद्धीको मुख्य आधार

कर्णाली करिडोरलाई यो प्रदेशको समृद्धिको आधारको रुपमा हेरिएको छ । भौगोलिक विकटताले पछि परेको कर्णालीमा सडकको पहुँच पुगेमा यहाँको विकासले पनि गति लिने अपेक्षा यहाँका नागरिकले गरेका छन् । कर्णालीको विकासको मुख्य पूर्वाधार सडकको सपना साकार हुने जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीले बताए । कर्णाली क्षेत्रको विकासको मुख्य ढोका कर्णाली करिडोर नै भएको शाहीले बताए ।

कर्णाली करिडोरमा गाडी गुडेपछि गरिवीको रेखामुनी रहेका हजारौं नागरिकका लागि ठुलो राहत भएको नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाही बताउँछन् । उनले कर्णाली करिडोर निर्माण पुरा भएपछि विकासका अन्य पूर्वाधारहरुको विकास हुनुका साथै स्थानीय उत्पादनको बजारिकरण गरी स्थानीयको आर्थिक अवस्थामा सुधार आउने विस्वास व्यक्त गरे ।

कर्णाली करिडोर चीनसँगको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सिमाना जोडिएको बाँकेको जमुनाहसम्म उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो दुरीको सडक हो । यसको कुल लम्बाई पाँच सय ३० किलोमिटर छ । सडक निर्माण सम्पन्न भएमा भारतबाट हुम्लाको मानसरोवर पुग्नेे पर्यटकको लागि सहज हुनेछ । मानसरोबर पुग्ने आन्तरिक र बाहृय पर्यटकको आगमनले कर्णाली क्षेत्रको पर्यटक विकास र आर्थिक गतिविधिमा वृद्धि हुनेछ । करिडोर निर्माण भए पर्यटन र व्यापारका दृष्टिकोणले त्रिदेशीय ट्रान्जिट बन्ने भएकोले विकासको दृष्टिकोणले पछाडी परेको कर्णालीको विकासले तिब्रता पाउने आश यहाँका नागरिकको छ ।