मिलले फेरिएको जीवन


बिस्नप्रसाद न्यौपाने
कालिकोट

हातमा घडि हुँदैन थियो । गाउँमा भाले बासेपछि गाउँका महिलाहरु घरघरबाट जम्मा हुन्थे र हुल बाँधेर भारी बोकर पानी घट्ट जाने यात्रा शुरु हुन्थ्यो । घट्ट जाँदै गर्दा आधा बाटो पुगेपछि मात्र उज्यालो हुन्थ्यो । आधा घण्टाको सिधा बाटो र झण्डै तीन घण्टाको उरालो बाटो हिँडेपछि रेंगिल पुगिन्थ्यो ।

                जहाँ बदालकोटको खोला कर्णालीमा पुगेर मिसिन्थ्यो त्यहाँ पानी घट्ट पनि थिए । तर त्यहाँ पुग्ने वित्तिकै घट्टमा आफुले लिएको अन्न पिस्न पाउँने पालो आउने सम्भावना कम हुन्थ्यो । पालो कुरेर घट्टमा लिएको अन्न पिसाए पछि बिहान तीन घण्टा लगाएर झरेको ओरालो बाटो चढ्न त झण्डै चार घण्टा लाग्थ्यो । घर पुग्ने बेलासम्म त कहिले रमक्क साँझ परीसकेको हुन्थ्यो भने कहिले भोली पल्ट पनि आउनु पर्ने बाध्यता हुन्थ्यो ।

              ति दिन सम्झदा पनि ताडिकी जीरा पाण्डेलाई अहिले पनि पीडा बल्झिएको महसुस हुन्छ । तर समाजले यसरी बिकासमा फड्को मारेकोमा उनी दङ्ग छिन् । हरेक दिन अन्न पिसाउन पानी घट्टको भर पर्नु पर्ने र धान लगायतका अन्य समाग्रीहरु पिसाउन ओखल, ढिकी र जाँतोको भर पर्नु पर्ने बाध्यता गाउँमा सडक पुगेसंगै अन्त्य भए पछि कालीकोटको खाँडाचक्र नगरपालिका वाड नं. ३ ताडिका महिलाहरुको दैनिकी फेरिएको छ ।

             दिनभरी लगाएर पानी घट्टमा पिसाएर ल्याएको पिठो कहिले सकिन्छ भन्ने चिन्ता सधै भइरहन्थ्यो । घरमा पाहुना आएको समयमा झन् घट्ट जाने दिन घिटो आउथ्यो । तर अहिले त्यो समय बदलिएको छ । घरको बारीमा गरिएको तरकारी खेतीबाट भएको कमाइले गाउँमा मिल सञ्चालन गरेपछि यहाँँका महिलाहरुको दैनिकी फेरिएको हो ।

                                                 ताडिकी जिरा पाण्डेले गाउँमा नै मिल स्थापना गरेपछि यहाँका महिलाको घट्ट जाने समस्या मात्र कम भएन जिराको मासिक आम्दानी पनि बढ्दै गएको उनले बताईन् । विगत लामो समयदेखी तरकारी खेती गर्दै आएकी जिरा पाण्डेले तरकारी बेचेकै पैसाबाट मिल सञ्चालन गरेकी हुन् । हाल उनले त्यही मिल सञ्चालनबाट मासिक ६० हजारदेखि ७० हजार रुपैयाँ आम्दानी गर्दै आएकी छन् भने गाउँका सयौ महिलालाई सेवा पनि दिइरहेकी छन् ।

                                           ‘मेरो मिलमा पिठो मात्र पिस्न मिल्छ’ उनले भनिन्, ‘यसबाट भएको आम्दानीले परिवारको खर्च काटेर साढे लाख लाख जति बचत हुने गरेको छ ।’

                                             एक दशक लामो समयदेखि व्यवसायिक तरकारी खेती गर्दै आएकी पाण्डेले घरमा पालेको भैसीको दुध र तरकारी बेचेर बचाएको ५ लाख रुपैयाँले गाउँमा मिल स्थापना गरेको बताईन् । उनको मिलेमा मकै प्रति किलो ८ रुपैयाँ र अन्य जौ, गहुँ, कोदो लगायतका अन्नहरु प्रति किलो ७ रुपैयाँका दरले पिसाउने गरिएको बताईन् । जसबाट भएको आम्दानीले छोराछोरीको पढाई खर्च, पारिवारिक घर खर्च समेत कटाएर मासिक ६० हजार बचत गर्दै आएको उनले बताईन् ।

                                              मिलमा मकै पिसाई रहेकी उर्मिला पाण्डेले विगतको परम्परागत घट्टमा पिठो पिस्न जाँदा निकै दुख भोग्नु परेको भन्दै गाउँमा मिल सञ्चालनले महिलाहरुलाई राहत मिलेको बताईन् । उनले विगतमा १० पाथी मकै पिसेर ल्याउन २∕३ दिन समय लाग्ने र धेरै पटक घट्टमा जानु पर्ने समस्या रहेको बताउदै अहिले विहान घरमा आगो बालेर मिलमा आई पिठो पिसेर खाना पकाउने समयमा फर्किने गरेको भन्दै खुशी व्यक्त गरिन् ।