२२ चैत्र काठमाडौं: इटालियन नागरिक क्यारारो डेभिडको हत्यामा संलग्न अभियुक्तलाई २१ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनाङका सन्डुप घले भनिने टासी गुरुङ छन् । उनीसहित आठजनामाथि २०५२ असोज २७ गते राति ठमेलस्थित रेगी पब रेस्टुराँमा छुरा प्रहार गरी डेभिडको हत्या गरेको आरोप छ ।
तत्कालीन समयमा डेभिड आफ्ना महिला साथीहरू एन्टेनोला केसराइनी र लारा स्किबिनासँग पबमा स्नुकर खेल्न पुगेका थिए । केसराइनीलाई गुरुङलगायतका सातजनाले जिस्क्याएका थिए । डेभिडले आफ्नी प्रेमिका भन्दै गर्दा उनीमाथि कुटपिट र छुरा प्रहार गरी सातैजना भागेका थिए ।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक रुगम कुँवरको टोलीले गुरुङलाई शुक्रबार अपराह्न ठमेलस्थित होटल कन्ट्री यार्डको कोठा नम्बर ३०२ बाट पक्राउ गरेको हो । उनी आफ्नो परिचय बदलेर उक्त होटेलमा विगत सात दिनदेखि बस्दै आएका थिए ।
डेभिडको हत्यापछि भारत पुगेका गुरुङले भागेर अमेरिका जाने योजना बनाएपछि उनका बाबु कालु मनाङे भनिने तेन्जिङ गुरुङले गोरखा समा गाविसका सन्डुप घलेका नाममा जारी भएको २९६१५५० नम्बरको पासपोर्ट चार लाख ५० हजारमा खरिद गरिदिएका थिए । २०५३ असोजमा उक्त राहदानीमा उनी टासी गुरुङको फोटो टाँसेर अमेरिका गएको ब्युरोले जनाएको छ । १५ वर्षसम्म अमेरिका बसेका गुरुङले अमेरिकाको ग्रिन कार्डसमेत लिएका थिए ।
घटनाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा डीआईजी नवराज सिलवालले भने, ‘नाम, नागरिकता, लाइसेन्स र राहदानी नक्कली रहेका गुरुङले आफूले गरेका अपराधलाई भिन्न परिचयभित्र छिपाएर राखे पनि हामी पत्ता लगाउन सफल भएका छौं ।’ प्रहरीले गुरुङविरुद्ध कर्तव्य ज्यान, राहदानी ऐन, सरकारी छाप दस्तखत किर्ते र नागरिकता ऐनअन्तर्गत मुद्दा चलाउने भएको छ ।
पत्नी हत्या प्रयासमा २४ दिन हिरासतमा
गुरुङको अत्याचारबाट आजित बनेकी उनकी पत्नी सम्झना (नाम परिवर्तन) ले सांग्रिला होटल नजिकै सासा फेन्सी सप खोलेर बसेकी थिइन् । फेन्सी सपमै २०७१ मा पत्नीलाई पेट्रोल छर्केर हत्या प्रयास गरेका गुरुङविरुद्ध प्रहरीमा उजुरी परेपछि केही दिन हिरासतमा राखेर अनुसन्धान भयो । उनलाई जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगमा मुद्दा चलाएर हिरासतमा राखिएको थियो । २४ दिनपछि पत्नीसँग मिलापत्र गरी उनी छुटे । गुरुङविरुद्ध पुनः स्वयम्भूस्थित एक महिलाको घर तोडफोड गरेको आरोपमा महानगरीय प्रहरी परिसरमा उजुरी पर्यो । उनी मिलापत्रमा छुटे । गुरुङले सोह्रखुट्टे प्रहरीमा आफूलाई टासी गुरुङकै नाममा परिचित गराएर औंठाछाप र हस्ताक्षर गरेका थिए ।
बाबुलाई खाग तस्कर र छोरालाई हत्या आरोप
चितवन राष्ट्रिय निकुञ्जको अनुरोधमा प्रहरीले गुरुङका बाबु कालु मनाङे भनिने तेन्जिङ गुरुङलाई २०६९ मा पक्राउ गरेको थियो । निकुञ्जको सूचीमा उनी गैंडाको खाग तस्करीका नाइके थिए । जिल्ला अदालत चितवनले उनीविरुद्ध १५ वर्ष जेल सजाय तोकेको थियो । निकुञ्जले कालु मनाङे भनेर पक्राउ गरे पनि अदालतमा पुगेपछि आफू तेन्जिङ गुरुङ रहेको प्रमाण पेस गरेपछि छुट्न सफल भए ।
ब्युरोले इटालियन नागरिकको हत्या प्रकरणमा तेन्जिङलाई समेत कानुनी दायरामा ल्याइने जनाएको छ । ब्युरोका प्रमुख नवराज सिलवालले भने, ‘छोरा हत्यारा हो भन्ने जान्दाजान्दै पनि तेन्जिङले अमेरिका पठाउन अर्काको राहदानी खरिद गरिदिएकाले हामी मतियारका रूपमा उनलाई कानुनी दायरमा ल्याउँछौं ।’
नागरिकताबिना लाइसेन्स र राहदानी
प्रहरीका अनुसार गुरुङले हालसम्म नागरिकता लिएका छैनन् । प्रहरीले गुरुङबाट बरामद गरेको लाइसेन्समा उल्लिखित नागरिकता नम्बर १६३१२ बारे अनुसन्धान गर्दा उक्त नागरिकता गोरखा छोप्राककी विमलादेवी पोखरेलको नाममा जारी भएको देखिन्छ । गुरुङको साथमा रहेको ०२–५३१०१५ नम्बरको लाइसेन्स मोरङ अमरदहकी चौमाया लिम्बूको नाममा जारी भएको छ ।
साभारः अन्नपूर्ण पोष्ट




Milan Shrestha । २२ चैत्र २०७२, सोमबार ०४:२६ बजे