वारेन्ट जारी गरीएका चौधरीद्वारा आत्मसमर्पण


फागुन १४, सुर्खेत ।
कैलालीका निर्वाचित सांसद रेशम चौधरीले आज अदालत समक्ष आत्मसमर्पण गर्नुभएको छ । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट पक्राउका लागि वारेन्ट जारी गरिएका चौधरीले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गर्नुभएको हो ।

न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले पुस ९ गते अदालतको वारेन्ट छलेर हिँड्नेलाई कानुनी सुविधा दिन नमिल्ने भनि आदेश गरेको दुई महिना पछि चौधरीले अदालत सामू आत्मसमर्पण गर्नुभएको हो ।

२०७२ भदौ २७ गते थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो । घटनामा चौधरीलाई मुख्य अभियुक्तका रुपमा सरकारी वकिलको कार्यालय कैलालीले कर्तव्य ज्यान मुद्दा दायर गरे लगत्तै फरार भएका चौधरीले मंसिर २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राजपाको तर्फबाट कैलाली क्षेत्र नं १ बाट उम्मेदवारी दिई भारी मतले विजयी हुनुभएको हो ।