कर्णाली राजधानी वीरेन्द्रनगरमा निषेधाज्ञा (भिडियो सहित)


१ भाद्र । सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज देखि कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन यही भाद्र ५ गते सम्मकालागि निषेधाज्ञा जारी भएको छ ।

निषेधाज्ञाको आज पहिलो दिन वीरेन्द्रनगर बजार पूर्ण सुनसान रहेको छ । बजारमा सरकारी कर्मचारी पत्रकार तथा स्वास्थ्य सेवाका सवारी मात्र चलेका छन् । आज पहिलो दिनको निषेधाज्ञा पालना गराउनकालागि बजारको गल्लीहरुमा समेत प्रहरी परिचालन गरिएको छ ।

स्थानीय मंगलगढी चोक तथा ऐरी चौकमा निषेधाज्ञा उलंल्घन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर केहीबेर छोड्ने गरेको थियो । निषेधाज्ञाको समयमा स्थानीय प्रशासनले मलामी जादाँ १५ जना मात्र जान आदेश दिएको छ । त्यस्तै आजबाट कर्णाली भित्रिनु परेमा करिब ३ दिन अगाडी सम्मको पिसिआर नेगेटिभ भएको रिपोर्ट पेश गर्नुपर्ने जनाएको छ भने कर्णाली प्रदेश रातको समयमा पूर्णरुपमा बन्द रहने बताइएको छ ।

यसैवीच आज नै देशमा ५ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जस्मा कर्णाली प्रदेशमा १४ जनामा संक्रमण पुष्टी भएको हो ।

वीरेन्द्रनगर सुर्खेतमा १० जना, जुम्लामा ३ जना र दैलेखमा १ जनामा संक्रमण पुष्टी भएको छ ।