
बिस्नप्रसाद न्यौपाने
माघ २७ । कालिकोट ।
नेपाल खाद्य संस्थान कालिकोटले कालिकोट जिल्लामा उत्पादित सिमी र फापर खरीद गरी जिल्ला बाहिर निर्यात गर्ने भएको छ ।
विगत ४ बर्ष देखी नियमित रुपमा सिमी र फापर खरीद गर्दै आएको नेपाल खाद्य संस्थान कालिकोटले यस बर्ष पनि सिमी र फापर खरीद गरी जिल्ला बाहिर निर्यात गर्ने भएको हो ।
संस्थान शाखा कालिकोटका प्रमूख झक्कुप्रसाद आचार्यले सरकारको नीति अनुसार जिल्लाका स्थानिय कृषकहरुको हित प्रर्वधनकालागि यस बर्ष सिमी १ सय क्वीन्टल र फापर ३० क्वीन्टल खरिद गरिने कार्यक्रम अनुसार हालसम्म फापर ३० क्वीन्टल, सिमी ५० क्वीन्टल खरीद भईसकेको र सिमी थप ५० क्वीन्टल खरिद गर्ने जानकारी दिए ।
संस्थानले सिमी प्रति किलोग्राम १ सय २५ रुपैया र फापर प्रति किलोग्राम ८० रुपैयाका दरले खरिद गर्दै आएको छ ।
कालिकोटका बजारमा सिमी ६०/७० रुपैयामै बजारका थोक व्यापारीहरुलाई बिक्रि गर्नु पर्ने बाध्यता खेप्दै आएका किसानहरुले नेपाल खाद्य संस्थानबाट प्रति किलो १ सय २५ रुपैया मुल्य पाए पछि किसानहरुमा खुसी भएका हुन् ।
कालिकोट जिल्लाको सदरमुकाम मान्म बजार तथा आसपासका बजारहरुमा व्यपारीहरुले प्रति किलो १ सय ३० रुपैयाका दरले सिमी बिक्रि बितरण गरिरहेका छन् । तर गाँउका किसानहरुलाई उनीहरुले प्रति किलो बढीमा ८० रुपैया दिने गरेको किसानहरु बताउछन् ।
जिल्लाको पचालझरना गाँउपालिका-७ का किसान धनराश बोहोराले आफुहरुले जिते बजारमा सिमी बिक्रि गर्न जाँदा प्रति किलो ८० रुपैयामा बिक्रि गरेको बताउँदै बजार पुगाएको सिमी घर फिर्ता लिन नसकिने भएकाले ८० रुपैया भन्दा बढी मुल्यमा व्यपारीहरु कसैले खरीद नगर्दा बाध्यताले बिक्रि गर्न परेको बताए ।



Milan Shrestha । २७ माघ २०७४, शनिबार ११:२५ बजे