
मिलन श्रेष्ठ
सुर्खेत, २९ माघ ।
महाशिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिव उत्पति भएको अवसरमा मनाईने हिन्दुहरुको प्रमुख पर्वको रुपमा पर्दछ । भगवान शिवको उत्पति कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्व मनाईने पुराणहरूमा वर्णित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दिन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास बसी ऊँ नमः शिवाय् मंत्र जप्ने गरेमा सद्बुद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।
यसै धार्मिक मान्यतालाई ध्यानमा राखी सुर्खेत जिल्ला साविक लाटीकोईली गाविस वडा नं ८ हाल वीननपा वडा नं. ९ स्थित लाटीकोईली शिव मन्दिरमा मंगलवार महाशिवरात्री मेला हुने भएको छ । हरेक बर्ष झै यस बर्ष पनि शिबबिहार पुस्तकालयले शिवमन्दिर महाशिवरात्रीको मेला धुमधामका साथ सम्पन्न गर्न गईरहेको जनाएको छ ।
शिवबिहार उपाध्यक्ष सरोजकुमार श्रेष्ठका अनुसार सुर्खेत जिल्ला स्थित बिभिन्न संघ–संस्था, व्यक्ति र लाटीकोईलीका स्थानियवासीहरुबाट रकम र अन्य खाद्य वस्तुहरु संकलन गरी महाशिवरात्री मेला सम्पन्न गर्ने र सो दिन दर्शन गर्ने आउने दशनार्थीरुलाई प्रसादको व्यवस्थापन गर्ने गरिएको बताए ।
श्रेष्ठका अनुसार महाशिवरात्री मेलाका दिन बिभिन्न समिति, उप–समितिहरु गठन गरी सयौंको संख्यामा स्वंयमसेवकहरु साथै सुरक्षाकर्मी समेत खटाईने छ । जिल्लाको एक मात्र पुरातात्विक एवंम ऐतिहासिक रुपमा रहेको तर प्रचार–प्रसार अभावमा ओझेलमा परिरहेको सो मन्दिरमा यसरी वर्षेनी महाशिवरात्री मेला लाग्ने गरेपनि यसको पुरातात्विक ऐतिहासिकता बारेमा चर्चा नभएको प्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।
यस महाशिवरात्री पर्वको दिन सोमबार रात भर शिवमन्दिरमा धुनी जगाई स्थानीयवासीले जागाराम बसी शिवको आरधाना गर्ने प्रचलन रहेको छ ।
प्रत्येक वर्ष भक्तजनहरुको घुंईचो बढ्ने सो मेलामा यसवर्ष पनि हाउजी खेल र शिवमन्दिरदेखि काँक्रेविहारसम्म निशुल्क यातायातको व्यवस्थापन गरिएको पुस्तकालयका सचिव सुनिलविक्रम जिसीले बताए ।



Milan Shrestha । २९ माघ २०७४, सोमबार १०:०४ बजे