तीन दलको बैठक निष्कर्षविहीन, चिकित्सा शिक्षा र राष्ट्रिय सभा विधेयक नआउने


२७ असोज, काठमाडौं । चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा सम्वन्धी विधेयकमा सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ । यससँगै संसदको यो बैठकबाट यी दुबै विधेयक ल्याउने प्रयास असफल भएको छ ।

दलहरुबीच सहमति जुटाउने प्रयासमा सभामुख ओनसरी घर्तीको पहलमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक शुक्रबार दिउँसो बसेको थियो । सभामुखको कार्यकक्षमा बसेको बैठकमा दलहरुले आ-आफ्नो अडान कायम राखेका थिए ।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले शिक्षा मन्त्री गोपालमान श्रेष्ठले संशोधन गरी ल्याएको चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने अडान राखेको थियो । तर, एमाले र माओवादी केन्द्रका नेताहरुले संसदीय समितिबाट सर्वसम्मत आएको विधेयक मन्त्रीले संशोधन गर्न नमिल्ने भन्दै संशोधन गर्नैपर्ने भए पुनः संसदीय समितिमा फर्काउनुपर्ने धारणा राखेका थिए ।

दलहरुबीच सहमति नभएपछि सरकारले सभामुख घर्तीलाई विधेयकलाई संसदको आजको अन्तिम बैठकको कार्यसूचीमा राखिदिन आग्रह गरेको थियो । तर, सभामुख घर्तीले भने त्यसमा सहमति जनाइनन् ।

आज संसदको अन्तिम बैठक हो । अब भोलिबाट संसदले विजनेश नलिने भएकाले संसदको यो बैठकबाट चिकित्सा शिक्षा विधेयक पास नहुने पक्का भएको छ । आमरण अनसनरत डा. गोविन्द केसीले भने चिकित्सा शिक्षा विधेयक छिटो पास गर्न माग गर्दै आएका छन् ।

यसैगरी राष्ट्रियसभा विधेयकमा पनि सहमति जुटेन । त्यसैले यो विधेयकलाई पनि आजको संसद बैठकको कार्यसूचीमा नराखिने भएको छ ।

साभारः अनलाइनखबर