टाउको मात्रै चल्ने अमिर, जो ओठैले बनाउँछन् सुन्दर चित्र


काठमाण्डौं– अमिर बमजन । जन्मदेखि नै शरीरको मुख र शीर बाहेक कुनै अङ्गले काम गर्दैन उनको । चार पाङ्ग्रे ठेलामा बस्छन् । शरीर नचलेपछि के गर्छन् होला र उनले भन्ने लागिरहेको धेरैलाई !

उनी सबथोक गर्छन् । ओेठका सहायताले ब्रस च्यापेर सुन्दर पेन्टिङ गर्छन् । गीत र कविता ओठैले लेख्छन् र मिठो स्वरमा गाउँछन् । ल्यापटपमा टाइप गर्ने, मोबाइल चलाउने जस्ता धेरै काम उनले मुखैले गर्छन् । उनलाई पढ्न निकै मन पर्छ । विशेष गरी अँग्रेजी । उनी अहिले अँग्रेजी सिकीरहेका छन् । अहिले काठमाण्डौ स्थित एसईआरसी स्कुलकै होस्टेलमा बसेर पढिरहेका छन् । तर, यो शौभाग्य पाएको धेरै भएकै छैन । केही महिनाअघि फर्केर हेर्ने हो भने उनको जीवनको रथ अर्कै मोडमा थियो ।

अति अशक्त र अपांगका रुपमा जन्म

१६ वर्षअघि मकवानपुरको थाहा नगरपालीका–१मा अमिरको जन्म भयो । सामान्य किसान परिवारमा यस्तो अवस्थामा सन्तान जन्मिनु ठूलो संकट आइलाग्नु जत्तिकै हुन्छ । उनका आमाबुवाले जब छोराको गर्धनभन्दा तलको भाग चल्दैन भन्ने थाहा पाए, उनीहरुलाई ठूलो पीडा भयो । अमिर हुर्किदै गए । उनलाई परिवारले सोही रुपमा अपनायो ।

बिहान घरको बार्दलीमा राखेर उनकी आमा काममा जान्थिन् । आमा कामबाट नर्फेसम्म दिनभरी घरअघिको खेतबारी, रुख, चरा र नजीकैको गुम्बा हेर्न आउनेसँग कुरा गर्थे । आफ्नो उमेरका बालबालीका उर्फिदै हातमा किताब समातेर स्कुल गएको उनलाई औधि रमाइलो लाग्थ्यो । उनलाई पनि त्यस्तै गर्न मन लाग्थ्यो रे । तर, टुलुटुलु हेर्नुको विकल्प उनीसँग कहा थियो र ? भाई र बहीनीले पनि त्यसैगरी कापी र सीसाकलम च्याप्दै लेखेको उनी टुलुटुल हेर्थे मात्रै ।

जीवनमा कलमको प्रवेश

amir

२०६९ सालतिर एकदिन भाईको कलम उनी नजीकै खसेको देखे र मुखले च्यापेर भुइँमा कोर्न थाले उनको त्यो पहिलो कोराई जीन्दगीमा सबैभन्दा खुसीको पल थियो । त्यसपछि भाईबहीनीका पुराना कापी र कलम अब उनका साथी हुन थाले । मुखले च्यापेर जे देख्थे उनी त्यही कोर्न थाले । गाउँमा रहेकी अनिता दिदिले उनलाई नेपाली क, ख अक्षरहरु चिनाउन मद्धत गरिन् । त्यसपछि उनी मनका भावहरु कविता, गीत मार्फत उतार्न थाले ।
घर नजिकैको गुम्बा एकोहोरो हेर्दा उनको मनमा त्यसको छाप परेको थियो जसलाई उनले आफनो कलम मार्फत् भुइँमा जस्ताको त्यस्तै उतार्न सफल भए ।

भूकम्पले दियो नयाँ जिन्दगी

२०७२ को भूकम्पले धेरैको ज्यान गयो र हजारौँ बालबालिका अपांग भए तर त्यही भूकम्पले अमिरको जीवनमा नयाँ मोड ल्यायो । अमिर र परिवार पनि पालको बास बस्न थाले । ४ महिनाको पाल मुनिको बास पछि जस्ताको टहरामा बस्न पुगेका अमिर त्यही टहरामुनि आफ्ना सिर्जना र्कोदै थिए । त्यसै समय भुकम्प प्रभावित बालबालिकाको खोजी गर्ने क्रममा करुणा फाण्डेसन नेपालका कर्मचारीका नजरमा उनी परे । उनको बहुमुखी प्रतिभाका सम्भावनाको खोजीका लागि करुणा फाण्डेसन र युनिसेफको मद्दतबाट काठमाडौंको एसिईआरसी स्कुलमा आउन सफल भए । हरेक पल परिवारका सदस्य उनीसँगै हुन आवश्यक भएकाले पालैपालो उनकी आमा र मामाघरकी हुजुरआमाका साथ उनी यतै बस्न थाले ।

किरण मान्धर चित्र र संगीत सिकाउँदै न्हु बज्राचार्य

amir art

चित्र कोर्ने उनको प्रतिभा र ईच्छाको बारेमा प्रसिद्ध चित्रकार किरण मानन्धरले जब सुने पहलो पटकमै उनलाई पेन्टिङ सिकाउन तयार भए । पहिलो भेटमा पेन्टिङका गर्न चाहिने संघर्स, त्यागको भावना कति गहिरो छ भन्ने महशुुस गरेको चित्रकार मान्धरले बताए । उनी मुखले पेन्टिङ गर्दछन् त्यसैले उनलाई चाहेको हेरक सामान दिनका लागी एक व्यक्ति उनी संगै हुुनुपर्छ । ‘अमिरसँगै उनकी आमा र हजुरआमालाई समेत चित्रकलाका बारेमा जानकारी दिएर अमिरलाई पेन्टिङ गर्न सिकाएको हो,’ मानन्धरले भने ।

त्यस्तै गीत र कविता लेख्छन् । मिठो स्वरका धनी छन् अमिर । त्यसैले त उनको आवाजलाई निखार्ने काम चर्चित संगीतकार न्हु बज्रचार्यले गरे । उनको क्षमताबाट प्रभावित भएका बज्रचार्यले पनि उनलाई संगीत सम्बन्धी ज्ञान दिए । बज्रचार्य भन्दै थिए, ‘उनका शुरुका गीतहरु जीवन प्रति निराशा जगाउने खालका हुन्थे ।’ उनले नै अमिरलाई निराशा होइन । आशाबादी गीत लेख्न हौसला दिए ।

उनी भित्र रहेका प्रतिभालाई दुनियाँसामु चिनाउने पहिलो प्रयास स्वरुप करुणा फाण्डेसने एक कार्र्यक्रमका बिच उनका क्षमतालाई उजागर गरेको छ । काठमाण्डौ आएको यो छोटो अवधिमा उने बनाएका ४२ वटा चित्र प्रदर्शनी समेत गरिएको छ । न्युनतम मुल्य ५ हजार तोकिएका उनका पेन्टिङ २० भन्दा बढी अडर भइसकेको करुणा फाण्डेसनले बतायो । उक्त कार्यक्रममा नै न्हु बज्रचार्यको संगीत रहेको आमा बोलको गीतको भिडियो समेत सार्वजनीक गरिएको छ । जुन नेपाल टेलिभिजन तथा अन्य च्यानल र एफएमहरुमा एकैसाथ प्रशारण समेत गरिएको थियो । कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तिहरुलाई प्रत्यक्ष गौतम बुद्धको चित्र बनाए, , गीत गाएर सुनाए । उनको प्रतिभा देखेर उपस्थित व्यक्तित्वहरु मन्त्रमुग्ध भए ।

त्यसतै युनिसेफले उनका बारेमा बनाएका छोटो भिडियो जुन युनिसेफको फेसबुक पेजमा १७ लाख भन्दा बढी ब्यक्तिले हेरेका छन् ।

अपांगता भएका व्यक्ति परिवारकालगी ठूला बोझ हुन्छन् भन्ने कुरालाई चिर्दै स्थान, साथ र अवसर पाए हरेक त्यस्तो व्यक्तिभित्र पनि मूल्यवान क्षमता लुकेको हुन्छ भन्ने उदाहण पनि बनिरहेका छन् अमिर ।

आफ्ना परिवारको आर्थिक अवस्था सुधारेर भाइबहीनीलाई राम्रो शिक्षा दिने सपना छ उनको । कहिलेकाहिँ विगतका दिन सम्झिदा आफूले अहिले सपना त देखिरेको छैन भन्ने लाग्छ उनलाई । उनी जीवनवारे भन्छन्, ‘जे आफूलाई दिएको छ । त्यसमा नै रमाउन सक्नु नै जीवन रहेछ ।’

साभारः स्वास्थ खबर पत्रिका