काठमाडौं । गत भाद्र २३ र २४ गतेका दिन जेन–जी प्रदर्शनमा भएको दमन र त्यसको भोलिपल्ट भएको आगजनी घटनाको छानबिनका लागि गठित आयोगले फौजदारी अपराध सम्बन्धी अनुसन्धान र कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ । आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।
छानबिन आयोगले (आज) मङ्गलबार सार्वजनिक गरेको विज्ञप्तिमा २०८२ असोज ९ गते गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति प्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै, नियमित फौजदारी अनुसन्धानका प्रक्रियामा आयोगको प्रतिवेदन पर्खनु नपर्ने बताइएको छ ।
गृह मन्त्रालयले सो दिन प्रहरी प्रशासनलाई आयोगले काम अघि बढाइसकेकाले भदौ २३ र २४ को घटनासम्बन्धी अनुसन्धान तत्काल अघि नबढाउन निर्देशन दिएको थियो । आयोगले उक्त विषयलाई स्पष्ट पार्दै – सरकारका संयन्त्रहरूले कानुन बमोजिम अपराधमा संलग्न व्यक्तिहरूमाथि तत्काल अनुसन्धान र कारबाही गर्न सक्ने बताएको छ ।
आयोगका सदस्य विज्ञानराज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ ।”
आयोगले भदौ २३ र २४ को घटनामा भएका मानवीय तथा भौतिक क्षतिको यथार्थ विवरण संकलन र विश्लेषण गर्ने कार्य अघि बढाइरहेको जनाएको छ ।




Prawash Kumar Shakya । २१ आश्विन २०८२, मंगलवार १८:४४ बजे