कालिकोटमा छाउपडी प्रथा कायमै


महिनावारी हुँदा छोरीलाई भन्दा बुहारीलाई बढी निषेध

बिस्नप्रसाद न्यौपाने
फागुन १४, कालीकोट ।
कालिकोट जिल्लाका ग्रामिण समुदायमा परम्परागत कु­संस्कारका रुपमा रहँदै आएको छाउपडी प्रथा अहिले पनि कायमै छ । जिल्लाका बिभिन्न बस्तीहरुमा महिला तथा किशोरीहरुले महिनावारी भएको समयमा घर भन्दा टाढाको गाई गोठ, छाप्रो, ओडारमा बस्नु पर्ने बाध्यता रहेको छ । महिनावारी भएको समयमा घर भित्र बस्दा तथा दुध, दहि खाँदा देवता लाग्ने र अनिष्ट हुने भन्ने गलत अन्धविस्वासबाट नागरिकहरु मुक्त हुन सकेका छैनन् ।

झण्डै एक बर्षदेखी कर्णालीका कालिकोट, जुम्ला र मुगुमा रहेर कर्णालीमा छाउपडी प्रथा न्यूनिकरण कार्यक्रम संचालन गर्दै आएको एक्सन वक्र्स नेपालले कालिकोटका ग्रामिण समुदायमा छोरीलाई भन्दा बुहारीको छाउपडी बढी मान्य गरेको तथ्यांङक सार्बजनिक गरेको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा एक्सन वक्र्स नेपाल र बि ग्रुपको साझेदारीमा जिल्लाका साविकका ७ वटा गाविसमा संचालीत छाउपडी प्रथा न्यूनिकरण कार्यक्रमबाट गरिएको अनुसन्धानको निष्कर्ष सार्बजानिक गर्न आयोजित कार्यक्रममा यस्तो तथ्यांङक सार्बजनिक गरेको हो ।
एक्सन वक्र्स नेपालद्धारा संचालित कर्णालीमा छाउपडी प्रथा उन्मुलन परियोजनाका सम्पर्क व्यक्ति कुमार आचार्यले अनुसन्धानबाट आएको निष्कर्ष सार्बजनिक गर्दै कालिकोट जिल्लाका साविकका चिल्खाया, राचुली, जुवीथा, छाप्रे, पाँखा, दाँहाँ र फोईमहादेव गाविसका ६ सय, ९९ जना व्यक्तिहरुमा गरिएको अनुसन्धानमा धार्मिक अन्धविस्वासकै कारण धेरैजसोले छाउपडी प्रथा मान्ने गरेको पाईएको बताउनुभयो । उहाँकाअनुसार महिनावारीलाई सामाजिक तथा सांस्कृतिक बन्देज, महिनावारी प्राकृतिक हो भन्ने बुझाई नभएको, महिनावारी न्यूनिकरण सम्बन्धी निर्देशीकाको बारेमा जानकारी नभएको, महिनावारी सामाजिक अपराध हो भन्ने कुरोको जानकारी नभएको, अनुसन्धान गरिएका मध्ये अधिकांश परिवारले छोरीको भन्दा बुहारीको छाउपडी बढी मान्ने गरेको पाईएको छ ।

यस्तै अनुसन्धानको लागि सोधपुछ गरिएका मध्ये ५२ प्रतिशतमा दुधजन्य पदार्थ महिनावारी भएको समयमा खान नहुँने, देवताको मन्दीरमा जान नहुने भन्ने मान्यतामा रहेको, ३१ प्रतिशतले महिनावारी भएको समयमा फलफुलका बिरुवा छुन नहुने बताएको, ९१ प्रतिशतले भान्छा जान नहुने, ७५ प्रतिशत घरभित्रै जान नहुने, ७७ प्रतिशत महिलाले छाप्रोमै बच्चा जन्माएको, ३८ प्रतिशतमा महिनावारी भएको समयमा केही न केही स्वास्थ्यको समस्या देखिएको, ४० प्रतिशत किशोरीहरु बिद्यालयका अतिरिक्त क्रियाकलापमा भाग नलिने गरेको, ९९ प्रतिशतले पुजा कोठामा नजाने गरेको प्रतिक्रिया दिएको उहाँले जानकारी दिनुभयो ।

तिलागुफा नगरपालिकाका प्रमूख रतनबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कर्णालीमा छाउपडी उन्मुलन परियोजनाकी अधिकृत दमीला शाहीले छाउपडी न्यूनिकरणका लागि स्थानिय तहले नै नेतृत्व लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहायक प्रमूख जिल्ला अधिकारी राजकरमार दुलाल, जिल्ला प्रहरी प्रमूख डिएसपी सुबासचन्द्र बोहोरा, नेपाल पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डेले छाउपडी प्रथा न्यूनिकरण अभियान सबैले आफैबाट सुरुवात गर्नुपर्ने बताएका छन् ।