के हो बोनम्यारो प्रत्यारोपण ?









 
-डा. विषेश पौड्याल

रगतको रोग विभिन्न प्रकारका हुन्छन् । रगतको रोग निदानका लागि बोनम्यारो प्रत्यारोपण नै गर्नुपर्छ भन्ने भ्रम धेरैमा पाइन्छ । तर, त्यस्तो होइन । रोगको प्रकृति हेरी कुनै रोगलाई औषधि चलाउनुपर्छ भने कुनै रोगलाई बोनम्यारो प्रत्यारोपण नै गर्नुपर्छ । बोनम्यारो प्रत्यारोपणलाई चिकित्सकीय भाषामा ‘होमाटोपोएटिक स्टेम सेल’ भनिन्छ । स्टेम सेलले रगतको सम्पूर्ण कोष निमार्ण गर्छ । होमाटोपोएटिक स्टेम सेल बोनम्यारोमा हुन्छ र एकदमै थोरै मात्रामा रगतमा पनि हुन्छ । पहिले–पहिले स्टेम सेल बोनम्यारोबाट मात्र झिकिने हुनाले यसलाई बोनम्यारो प्रत्यारोपण भनियो, तर अहिले सेल सेपरेटर 

मेसिनको सहयोग र एक विशेष किसिमको औषधिको प्रयोगबाट रगतबाट नै स्टेम सेल निकाल्न सकिन्छ । बोनम्यारोबाट स्टेम सेल झिक्न मानिसलाई बेहोस बनाउन पर्छ भने मेसिनबाट झिक्न बेहोस बनाउनुपर्दैन । रोगको प्रकृति हेरी कसैलाई बोनम्यारोबाट झिकिएको स्टेम सेल दिइन्छ भने कसैलाई रगतबाट झिकिएको दिइन्छ ।
बोनम्यारो प्रत्यारोपण जटिल प्रक्रिया हो । धेरै रोगमा प्रत्यारोपण गर्नुअघि रोगलाई औषधिद्वारा नियन्त्रणमा राख्नुपर्छ । यसरी नियन्त्रणमा राखिसकेपछि एकदमै ‘हाइ डोज’ केमोथेरापी दिइन्छ । जसले बिरामीको क्यान्सर कोष र रक्त मासिकालाई नष्ट गरिदिन्छ । त्यसपछि मात्र पहिले जम्मा गरिएको स्टेम सेल वा दाताबाट झिकिएको स्टेम सेल रगत दिएको जस्तै गरेर प्रत्यारोपण गरिन्छ । बोनम्यारो प्रत्यारोपण गरिसकेपछि बिरामीले धेरै कुरामा ध्यान पु¥याउनुपर्छ । प्रत्यारोपणपछि बिरामीलाई प्रत्यक्ष असर पार्ने संक्रमण ग्राफ्ट भर्सेस होस्ट डिजिज (जीभीएचडी) नै हो । एक पटक प्रत्यारोपण गरिसकेपछि बिरामीलाई रोग प्रतिरोधात्मक क्षमताले राम्ररी काम गर्न एकदेखि दुई वर्षसम्म लाग्छ ।

साथै रोगको प्रकृतिअनुसार रोग प्रतिरोधात्मक क्षमतालाई प्रत्यक्ष असर गर्ने औषधि खानुपर्ने हुँदा संक्रमणको सम्भावना बढी हुन्छ । बिरामीलाई साधारण ब्याक्टेरियाको संक्रमणदेखि जटिल किसिमका भाइरल वा फङ्गल इनफेक्सन हुनेगर्छ । दाताको स्टेम सेल बिरामीको शरीरमा प्रत्यारोपण गर्दा दाताका लिम्फोसाइटहरू पनि रगतसँगै बिरामीको शरीरमा पुगेर बिरामीलाई हानी पु¥याउने गर्छ । त्यही प्रक्रियालाई जीभीएचडी भनिन्छ । जीभीएचडी एकदमै धेरै मात्रामा भए बिरामीको मृत्यु हुने सम्भावना बढी हुन्छ ।
बोनम्यारो प्रत्यारोपण गर्ने दाताबारे पनि धेरै जिज्ञासा पाइएको छ । बोनम्यारो प्रत्यारोपण गरिसकेपछि दातालाई केही पनि हुँदैन । यो प्रक्रिया रगत दान गरेजस्तै हो । बोनम्यारो प्रत्यारोपण गर्दा दाता र बिरामीको रक्त समूह मिल्नुपर्छ भन्ने छैन । दाता र बिरामीको एचएलए टाइप (विशेष प्रकारको रगतको जाँच) गरिन्छ र दुवैको एचएलए मिल्यो भने प्रत्यारोपण गरिन्छ । आफ्नै सहोदर दाइ, भाइ, दिदी, बहिनीको एचएलए मिल्ने सम्भावना २५ प्रतिशत हुन्छ भने अन्यको मिल्ने सम्भावना एक प्रतिशत हुन्छ ।
नेपालमा पहिलाको तुलनामा रगतका रोग बढेको छ । धेरैजसो रोगमा बोनम्यारो प्रत्यारोपण आवश्यक पर्दैन । तर एप्लास्टिक एनिमिया, थालासेमिया क्यान्सरको प्रकृति हेरी रगतका केही क्यान्सरलाई प्रत्यारोपण आवश्यक पर्छ i
– डा. विशेष पौड्याल, रक्त रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ
साभारः स्वास्थखबर पत्रिका