२५ सावन, सुर्खेत । “आरम्भ चौतारीको अभियान, एकैसाथ देशव्यापी रक्तदान” भन्ने मूलनाराका आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाले देशको सातै प्रदेशमा रक्तदान कार्यक्रम गर्ने निर्णय अनुरुप आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि रक्तदान कार्यक्रम गरेको छ । साथै सोही कार्यक्रममा ३० विश्व आदिवासी दिवशको अवसरमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कर्णाली प्रदेशले पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले मानिसको ज्यान बचाउनकालागि गरिेने सर्वोत्तम कार्य रक्तदान जस्तो महान कार्यक्रम गरेकोमा दुबै संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले रगतका बारेमा चर्चा गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतको प्राविधिक सहयोगमा दुबै संस्थाबाट संयुक्त रुपमा ५० पिन्ट रगत संकलन गरिएको आरम्भ चौतारीका कार्यक्रम अधिकृत सुरेश नेपालीले बताउनुभयो ।
यस्तै आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाले बाँकेको डुडुवा गाउँपालिका वार्ड नं.–४ मिलन चौक कम्दीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ कार्यक्रममा महिला पुरुष गरी ३५ जनाले रक्तदान गरेका हाम्रा सहकर्मी पवन जयसवालले जानकारी दिनुभयो ।
प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र बाँकेको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा प्रमुख अतिथि तथा नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१० का वडा सदस्य भरतद्वज शाही, बिशिष्ट अतिथि आरम्भ चौतारी लघुबित्त बित्तिय संस्था लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख अमरनाथ सेडाईले रगत संकलन गर्ने थैली प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सुनिल पुलामीलाई संयुक्त रुपमा हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो ।
Prawash Kumar Shakya । २५ श्रावण २०८१, शुक्रबार १६:३६ बजे