कुपोषणको स्तरलाई सुधार्नको लागि भेडाबाख्रा पालन व्यवसाय


अविरल ढकाल, जुम्ला
फागुन १८,
जुम्लाका धेरै किसानहरुको भेडाबाख्रा पालन व्यवसाय प्रमुख आय आर्जनको बलियो माध्यम बन्दै गइरहेको पाइएको छ । हिमाली क्षेत्रको आय आर्जन प्रमुख मेरुदण्डको रुपमा रहेको पशुपालन जुम्लामा फस्टाउदै गएको हाे ।

जुम्लामा अरु व्यवसाय भन्दा कम लगानीमा धेरै मुनाफा लिन सकिने व्यवसायको रुपमा भेडाबाख्रा पालन व्यवसाय नै देखिएको छ । भेडाबाख्रा पाल्न पनि सजिलो छोटो समयमा नै फाईदा लिन सकिने भए पछि जुम्लामा बाख्रा पालन व्यवसाय फस्टाउदै गएको हाे ।

जुम्लाको हिमा गाउँपालिका ७ का ५४ वर्षिया लालमाया रोकायालाई यो समयमा बाख्रा चराउनमै उनको दिन वित्ने गरेको छ । महिला तथा वालवालिकाको पोषणस्तर सुधार्नका लागि कृषि तथा खाद्य सुरक्षा आयोजनाको साना अनुदानको कार्यक्रमले बाख्रा वितरण गरेपछि बाख्राको लालनपालनमै दिन गुज्रने गरेको हो ।

गाउँमा देखिएको कुपोषणको अन्त्य गर्न बाख्रापालन गर्न थालेका छौ । यसले मासुजन्य पदार्थले प्रदान गर्ने चिजको परिपूर्ति गर्ने देखिएको छ । उनी आफनो व्यवसाय बाट सन्तुष्टी हुनुका साथै बाख्रापालनलाई अझ व्यवस्थित बनाउदै लग्ने र जिविकोपार्जन तथा आयआर्जनको काममा टेवा पुग्नेमै केन्द्रित हुने भएकोमा आशा रोकायाले व्यक्त गरिनन् ।

उनले भनिन, चरनक्षेत्रको अभाव संगै व्यवसायीक बाख्रा पालन गर्न सकिएको थिएन, तर शरीरमा मासुजन्य पदार्थको महत्वका बारेमा बुझदै गएपछि आफुलाई बाख्रापालन व्यवसाय गर्नमा हौसला उत्पन्न भएको हो ।

हिमा गाउँपालिकामा महिलालाई विभिन्न समूहमा गोलबन्द गर्दै पोषण सुधारका क्रियाकलाप अघि बढेका हुन् । समुहमा आवद्ध सबैलाई बाख्रा दिएका छौ, वरिष्ठ कृषि विकास अधिकृत भरत प्रसाद कडेलले भने, अहिले सम्म राम्रै संग पालेको देखेका छौ । पहिलो चरणमा दिएका बाख्राबाट केही पाठापाठी बढिसकेका छन् । घाँसको विउ उपलव्ध गराउनुका साथै औषधी उपचारको प्रवन्ध पनि गर्दै आएको र प्रत्येक समूहमा २५ वटा बाख्रा सहित २ वटा वोका दिने गरिएको जिल्ला पशुसेवा कार्यालय जुम्लाले बताएको छ ।

त्यस्तै किसानहरुलाई पशु विमामा पनि आकर्षित गराउन थालिएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले खाद्य सुरक्षा आयोजनामा वितरण भएका बाख्राको उचित रेखदेख गरि कार्यक्रमको मर्म अनुसारको काम गर्न किसानलाई आग्रह गरे । उनले भने, स्थानीय आवश्यकता, किसानको माग र यहाँको अनुकूलताका आधारमा कार्यक्रम सञ्चालन भएकोले सन्तोषजनक देखिएको छ । उनले बाख्रापाल्ने बहानामा वालवालिकालाई स्कुल जानबाट बञ्चित नगराउनको लागि सुझाव दिए ।

जिल्ला समन्वय समितीका प्रमुख लालवहादुर सार्कीले सधै अर्काकै भरमा अघि वढ्नु भन्दा पनि स्वतस्फुर्त मनै देखि बाख्रापालन गर्नुपर्नेमा जोड दिए । जिल्लाका तत्कालिन १० गाउँविकास समितीमा बाख्रापालन गरिएको छ ।

जुम्लामा स्थानिय हिमाली जातको मात्र भेडा पाल्ने गरिएको छ भने करिब ७ हजार ५ सय किसानहरुले व्यवसायिक रुपमा भेडाबाख्रा पाल्दै आएका छन् । भेडाको मासु हाल जुम्लामा प्रति केजी ६५० रुपैयामा बिक्री भइरहेकोले पनि किसानहरुलाई थप व्यवसाय गर्न उत्प्रेरित गरेको छ ।

किसानहरु भने लामो समय सम्म खडेरी पर्ने भएकोल चरन क्षेत्रमा समस्या सिर्जना भएको बताउँछन् । ६ महिना सम्म सुख्खा घाँस खुवाउनु पर्ने बाध्यता भएकोले अव आउने वर्षहरुमा भेडापालन व्यवसाय संकटमा पर्ने देखिन्छ ।

हिमाली कृषि परम्परा र यहाँको संस्कृतिमा महत्वपूर्ण पक्षका रुपमा रहेको भेडाबाख्रा पालन व्यवसायलाई बचाउनु आवश्यक भएको र यसका लागि राज्यले चासो लिनुपर्ने स्थानीय किसानहरु बताउँछन् ।