अशोक दर्जीको परिवारलाई घर हस्तान्तरण


दमक,५ भदौ । बि राज नेपालको शब्द, टंक बुढाथोकीको संगीत, अशोक दर्जी र टंक बुढाथोकीको स्वर रहेको मन बिनको धन ठुलो कि, धन बिनाको मन भन्ने बोलको गीत गाएर निकै चर्चामा आएका बाल गायक अशोक दर्जीको परिवारलाई घर हस्तान्तरण गरिएको छ ।
सोमबार एक सांगीतिक कार्यक्रमबीच बाल गायक दर्जीको परिवारलाई घर हस्तान्तरण गरिएको हो । दमक नगरपालिका २ मा चार कोठाको पक्की घर निर्माण गरिएको छ । करिब २५ लाखको लागतमा घर निर्माण गरेको गायक तथा संगीतकार टंक बुढाथोकीले जानकारी दिए ।

जस्तापाताको छाना भएको पक्की घर निकै आकर्षक बनाइएको छ । घरमा टायल बिछ्याइएको छ । जिब्सनको सिलिङ लगाइएको छ । ढोकाहरू आकर्षक डिजाइनका रहेका छन् । किचन आधुनिक डेकोरेशनसहितको बनाइएको छ । अशोक, उनको बुबा आमा र सिटिङ रुम छुट्टाछुट्टै तयार गरिएको छ । साउन्ड सिस्टमसहितको ४३ इन्चको एलइडी टीभी जडान गरिएको छ । प्रत्येक कोठामा वाल फेन । किचनमा फ्रिज । सोफा, दराज, टि–टेबलसहित दर्जीको घरलाई आकर्षक रूपमा सजाइएको छ ।

अतिविपन्न परिवारका दर्जी ५ महिनाअघि सडकमा गीत गाएर हिँड्थे । तर, उनले गीत गाएको युटुब च्यानलहरूमा भाइरल भएपछि अहिले अशोकको चर्चा चुलिएको हो । गायक तथा संगीतकार बुढाथोकीसँग गाएको उनको पहिलो गीत ‘मन बिनाको धन ठूलो कि धनबिनाको मन ।।।’ चर्चित बन्यो । उक्त गीत युटुबमा अहिलेसम्म एक करोड ४१ लाख ९८ हजारभन्दा बढीले हेरेका छन् । २६ हजार ६ सय कमेन्ट र २ लाख ४२ हजारले लाइक गरेका छन् । अशोककै स्वर तथा मूर्तिकार मञ्जुल मितेरीको शब्द र संगीत रहेको ‘झिलमा फूलु।।।’ बोलको उनको दोस्रो गीत दुई साताअघि मोरङको उर्लाबारीमा सार्वजनिक गरिएको थियो । उक्त गीत पनि १४ लाख ४८ हजारले हेरिसकेका छन् ।

सुमधुर स्वरका धनी बाल गायक अशोक युटुबमा गीत गाएर भाइरल बनेपछि उनको नाममा देश–विदेशबाट लाखौं सहयोग प्राप्त भएको छ । उक्त सहयोग रकमबाट अशोकको घर निर्माण गरिएको हो । अशोकलाई टुयुब च्यानलहरूले चर्चित बनाउन सहयोग गरेको भन्दै उनको घरमा युटुवको लोगो राखिएको छ ।
साभारः नेपालगाथा ।