बिस्नप्रसाद न्यौपाने
फागुन २०, कालीकोट ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालिकोटले आईतबारदेखी मसाज, स्टीम बाथ लगायतका बिभिन्न आयुर्वेदीक स्वास्थ्य सेवाहरुको सुरुवात गरेको छ । केन्द्रले आईतबार औपचारीक कार्यक्रमको आयोजना गरी मसाज, स्टीम बाथ, नेती कर्म, एनिमा, स्वदेन, शिरोधारा, रुलर फर्मेसि लगायतका बिभिन्न आयुर्वेदीक सेवाहरुको सुरुवात गरेको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा खाँडाचक्र नगरपालिकाको सहयोगमा कालिकोट जिल्लामै बिभिन्न आयुर्वेदीक स्वास्थ्य सेवाहरुकोे सुरुवात गरिएको छ । खाँडाचक्र नगरपालिकाका स्वास्थ्य शाखा प्रमूुख डा. सुभास शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डे, उप प्रमूख बिजया बिष्ट, जिल्ला प्रहरी प्रमूख सुबासचन्द्र बोहोरा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमूख बिरेन्द्र केसी, बरिष्ठ बैद्ये लक्ष्मीप्रसाद पाण्डे, खाँडाचक्र नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरु, पत्रकार नागरिक समाज लगायतका सरोकारवालाहरुलाई प्रयोगात्मक रुपमा प्रयोग गर्न लगाई सुरुवात गरिएको हो ।
कार्यक्रममा नाक सम्बन्धिका बिभिन्न समस्याहरुको समाधानका लागि नुन पानीले नाक सफा गर्ने नेती कर्म सेवा, ग्याष्टीक लगायतका समस्याका समाधानका लागि कुञ्जली सेवा, आमासय भन्दा तल्लो भागका आन्द्राहरु सफा गर्ने एनिमा सेवा, शरिरलाई चलायमान बनाउने तथा बाथ रोगको उपचारका लागि मसाज सेवा, औषधि पानीको बाफले पसिना निकाल्ने स्टीम बाथ लगायतका कार्यहरु प्रयोगात्मक रुपमा गरिएको थियो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमूख बिरेन्द्र केसीले पहिलेको तुलनामा अहिले आयुर्वेदिक औषधिहरुको प्रयोग बढीरहेको जानकारी दिनुभयो । उहाँले अहिले हरेक दिन ६, ७ जना सेवाग्राहीहरु सेवा लिन आउने गरेको भन्दै आयुवेर्दीक उपचारको प्रभावकारीता देखाउन तथा यस प्रति नागरिकहरुलाई आकर्षित गर्न बिभिन्न सेवाहरु थप गरीएको छ ।



Milan Shrestha । २० फाल्गुन २०७४, आईतवार १०:१५ बजे