बाँके निकुन्जमा बाघ गणना सुरु


चैत्र १९, २०७२- बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु गरिएको छ । ५ वर्षअघि घोषणा गरिएको निकुञ्जमा बाघ बढेको अनुमान गरिएको छ । गत वर्ष स्वचालित क्यामेराका माध्यमद्वारा गणना गरिँदा ४ पोथी र २ भाले बाघ भेटिएका थिए ।
बाघ गणनाका लागि शुक्रबार क्यामेरा जडान भइरहेको छ । ८० क्यामेरा जडान गरिएको निकुञ्जका सूचना अधिकारी रबीन चौधरीले बताए । जेठ ५ गतेसम्म बाघ गणना गरिने उनले बताए ।
यस वर्ष बाघको संख्या बढेको हुनसक्ने निकुञ्जका संरक्षण अधिकृत लालमणि भण्डारीले बताए । यो निकुञ्जले कम्दी कोरीडोर मार्फत् भारतीय निकुञ्जलाई पनि जोडेको छ । जसका कारण भारतबाट पनि वन्यजन्तु आउजाउ गर्न थालेका छन् ।
निकुञ्जमा बाघको संख्या बढाउन २० स्थानमा पानी पोखरी र घाँसे मैदान निर्माण गरिएको छ । घास र पानीको ब्यवस्था गरिएपछि बाघलाई आवश्यक पर्ने चित्तल, जरायो, निलगाई लगायतका वन्यजन्तुको संख्या बढेको उनले बताए । ठुरीया खोला, खडकवार र कुसुम बैरीयाको घाँसे मैदानमा बाघको बासस्थान रहेको अनुमान गरिएको छ ।

निकुन्ज र आसपासका जंगल क्षेत्रको हरेक दुई किलोमिटरमा क्यामेरा जडान गरिएको छ । ५ सय ५० वर्ग किलोमिटर वन क्षेत्र र ३ सय ४३ वर्ग किलोमिटरमा मध्यवर्ती क्षेत्रमा निकुञ्ज फैलिएको छ । ०६७ बैशाख ३० गते सरकारले यो निकुञ्ज घोषणा गरेको थियो ।
साभारः कान्तिपूर अनलाइन