संसदको बर्षे अधिवेशन आजबाट शुरु


Imagebbc

बर्खे अधिवेशन समेत भनिने संसदको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ।
सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट समेत पारित गर्नुपर्ने जिम्मेवारी रहेको यो अधिवेशनमा अन्य केही विधेयकहरुले समेत प्रवेश पाउने बताइएको छ।
त्यसबाहेक सांसदहरुलाई संसदकै कार्य सञ्चालन नियमावली पनि पारित गर्नुपर्ने जिम्मेवारी छ।
अधिवेशनको पहिलो दिन राष्ट्रपति कार्यालबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची रहेको अधिकारीहरुले बताएका छन्।

निर्धारण

अन्य एजेण्डा सभामुख ओनसरी घर्तीले १० बजेका लागि बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्धारण गर्ने बताइएको छ।
जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक समयसीमा भएकोले त्यसअघि सम्पन्न गरिसक्नुपर्ने बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम पारित गर्ने कार्ययोजना बनाइने व्यवस्थापिका संसदका सचिव मुकुन्द शर्माले बताए।
उनले भने, “अबको केही दिनसम्म बजेटपूर्वको छलफल हुन्छ, त्यसपछि सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत हुन्छ र यो महिनाको अन्त्यसम्म त्यसमाथिको छलफल सकिन्छ र बजेट प्रस्तुत गर्न बाटो खुल्छ।”
तीन महिनापछि शुरु हुन लागेको यो अधिवेशनमा समसामयिक विभिन्न घटनाहरुका बारेमा सांसदहरुले संसदको ध्यानाकर्षण गर्ने र ती विषयमा छलफल पनि हुन सक्ने बताइएको छ।
अघिल्लो अधिवेशनमा विभिन्न चरणमा रहेर टुंगो लाग्न नसकेका ३ दर्जन विधेयकहरुमाथि पनि छलफल गर्ने योजना संसद सचिवालयले बनाएको सचिव शर्माले बताए।

प्राथमिकता

उनले भने, “कुन विधेयकलाई पहिले प्राथामिकतामा राख्ने हो भन्ने विवरण मागेका छौँ, त्यो प्राप्त भएपछि सोहीअनुरुप छलफल अघि बढाउने गरी कार्यतालिका निर्माणमा जुटेका र्छौँ।”
गत अधिवशेनले संसदकै नियमावली निर्माणका लागि बनाएको मस्यौदा निर्माण समितिले यो अधिवेशन शुरु हुने अघिल्लो दिन केही विवादित विषय बाँकी नै राखेर मस्यौदा संसदमा पठाएको छ।
ती विवादलाई अधिवेशनको शुरुवातकै दिनमा मिलाएर नियमावली पारित गर्नुपर्ने समेत जिम्मेवारी यो पटको अधिवेशनलाई छ।
यसका अतिरिक्त नयाँ संविधान कार्यान्वयन गर्न आवश्यक भनिएकामध्ये हाल निर्माणको चरणमा रहेका कतिपय कानुनहरुले समेत यो अधिवेशनमा प्रवेश पाउने बताइएको छ।
साभारः विविसी