नेकपाद्वारा कैलाली बन्द, जनजीवन प्रभाबित


३ चैत, धनगढी । कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई आक्रमण गर्ने कार्यकर्तालाई पक्राउ गरेको बिरोधमा नेकपाले शनिबार कैलाली बन्द गरेको छ । बन्दका कारण यातायातका साधन सुचारु छैनन् भने बजार पनि ठप्प छ । बन्दका कारण गाडी नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।

मेयरलाई आक्रमण गरेको आरोपमा प्रहरीले विप्लव समूहका घोडाघोडी नगरपालिका १ लक्ष्मीपुर बस्ने ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ बस्ने ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय पुर्णप्रसाद खनाल र टिकापुर नगरपालिका १ का ३० वर्षीय हृदयराज बोगटीलाई पक्राउ गरेको हो ।

नेकपा कैलाली इन्चार्ज महान र सेक्रेटरी अमरले संयुक्त विज्ञप्ति जारी गरी चौधरीमाथि भएको आक्रमणमा आफ्नो पार्टीको संलग्नता नभएको दावी गरेका छन् ।

गत फागुन २८ गते मेयर चौधरीलाई उनकै घरमा विप्लवका कार्यकर्ताहरुले खुकुरी र गोली हानी घाइते बनाएका थिए भने घाइते मेयर चौधरीको काठमाडौंमा उपचार भइरहेको छ ।