सुनसरीको मधुवनमा भीषण आगलागी, ८२ घर नष्ट


चैत ४, इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भीषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको क्षति भएको छ ।

आगलागीका कारण बस्तीमा कम्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिए । क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने उनको भनाई छ ।

आगलागीमा बस्ती नै सखाप भएको तथा केही बालबालिका पनि सामान्य घाइते भएका छन् भने दुईवटा चौपाया जलेर मरेका छन् । आगो कसरी लाग्यो भन्ने खुलेको छैन ।

बस्ती नै सखाप हुने गरी भएको आगोलाई इटहरी, धरान, इनरुवा र राजविराजबाट आएका चार बारुणयन्त्र तथा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी एवं स्थानीयवासीको सक्रियतामा राति १ बजेतिर आगोलाई पूर्ण नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

आगलागीमा परेर स्थानीयवासी सबैको घरमा भएका खाद्यान्न, लत्ताकपडा, बहुमूल्य सुनचाँदी, भाडावर्तनलगायत सबै नै खरानी भएकाले उनीहरुका लागि आपतकालीन सबै प्रकारका राहतको आवश्यकता रहेको प्रहरीले बताएको छ । अनलाइनखबरबाट