बिस्नप्रसाद न्यौपाने
चैत १०, कालीकोट ।
कालीकोट जिल्लामा निर्माणाधिन शाखा सडकका कारण मुख्य राजमार्ग अबरुद्ध हुने गरेको छ । कर्णाली राजमार्ग अन्तरगत सुर्खेत जुम्ला सडक खण्डको बिभिन्न ठाँउबाट निर्माण गर्न लागिएका ग्रामिण सडकहरुका कारण मुख्य राजमार्ग अबरुद्ध हुँदै आएको हो ।
जिल्लाको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकाकै एक दर्जन भन्दा बढी ठाँउहरुबाट अव्यवस्थित रुपमा निर्माणाधिन रहेका ग्रामिण सडकले कर्णाली राजमार्गमा संचालन हुने यातायातका सानधनहरुले सास्ती खेप्ने गरेका छन् । खाँडाचक्र नगरपालिकाको ताडी बजारदेखी तिला कर्णाली बहुमुखी क्याम्पस जाने सडक, थानकोट देखी बद्रीगाँउ जाने सडक, पोरीपाल्नीदेखी भर्ता जाने सडक, सुनार खोलादेखी ताडी जाने सडक, दाँहाँदेखी पिली जाने सडक, दाँहाँदेखी चुलीमालिका जाने सडक, पिलीदेखी पाँखा जाने सडक लगायतका एक दर्जनभन्दा धेरै ठाँउमा ग्रामिण सडक निर्माणका क्रममा आएका ढुंगा, माटोका ढिस्काले मुख्य राजमार्गलाई प्रभावीत बनाएको छ ।
खाँडाचक्र नगरपालिका मात्र होइन, तिलागुफा नगरपालिकाका पनि बिभिन्न भागबाट कर्णाली राजमार्गसँगै जोडिएर गाँउ तिर जाने सडकले पनि यातायात सेवालाई प्रभावीत बनाएको छ । कर्णाली राजमार्गमा नियमित रुपमा पाँच बर्षदेखी गाडी चलाउदै आएका गाडी चालक विपिन विकले शाखा सडकका कारण पक्की सडकमा ढुँगा र माटोले भरिएकाले गाडी चलाउन निकै जोखिम बढेको बताउनुभयो । उहाँले कालीकोट जिल्लाका मात्र दर्जनौँ ठाँउहरुमा सडक अबरुद्ध भएको, दैलेख र जुम्लाको खण्डमा पनि यस्तो समस्या रहेको गुनासो सुनाउनुभयो ।
उहाँले भन्नुभयो, कालीकोट जिल्लाको सदरमुकाम मान्म नजीकै ताडीमा त माथिबाट कति वेला पहिरो आँउछ थाहा छैन । तिला कर्णाली बहुमुखी क्याम्पस जाने सडक निर्माणको काम रोकिएको बेला समेत ढुंगा र माटो खस्ने गरेको छ । ठुलो चट्टानमा सडक बिभागद्धारा सडकको डिलतिर हालिएको स्टील रेलिङ समेत ढुंगा र माटोले उखेलेर फालिसकेको छ ।
प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले कालीकोट जिल्लामा मात्र झण्डै ११–१२ वटा ठाँउहरुमा शाखा सडकका कारण मुख्य राजमार्गमा जोखिम बढेकाले यसको समाधानका लागि सडक डिभिजन कार्यालय जुम्लालाई ताकेता गरेको जानकारी दिनुभयो । आफुले सडक डिभिजन कार्यालय जुम्लाका प्राबिधिकहरुलाई जिल्ला प्रशासनमा नै बोलाएर छलफल गरी ताकेताका लागि पत्र पठाएको बताउदै उहाँले जिल्लाको खाँडाचक्र नगरपालिकामा नै शाखा सडकका कारण मुख्य राजमार्ग बढी प्रभावीत भएको बताउनुभयो । आफुले खाँडाचक्र नगर प्रमूख जसीप्रसाद पाण्डेसँग समेत छलफल गरी यसको समाधान गर्न आग्रह गरेको उनको भनाई छ । सडक डिभिजन कार्यालय र स्थानिय तहको लाप्रबाहीका कारण कर्णाली राजमार्गमा चल्ने सवारी साधन तथा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।




Milan Shrestha । १० चैत्र २०७४, शनिबार १३:०३ बजे