सुर्खेतमा हाइड्रो पावर इन्जिनियरिङङ्गको पढाई सुरु हुदै


४ वर्षमा ४८ हाइड्रो इन्जिनियर उत्पादन हुने

सुर्खेत, २७ साउन । नेपालमै पहिलो सुर्खेतमा हाइड्रो पावर इन्जिनियरिङङ्गको अध्यापन सुरु हुने भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इनिजनियरिङ्ग संकाय अन्तर्गत यसै शैक्षिक सत्रदेखि हाइड्रो पावर इन्जिनियरिङ्गको अध्यापन सुरु गर्ने जनाएको छ । इन्जिनियरिङ्ग संकायले बिहीबार पत्रकार सम्मेलनमा हाइड्रो पावर अध्यापनका लागि सम्पूर्ण तयारी पुरा भएकोले यसै शैक्षिक सत्रदेखि सुरु हुने बताएको छ । अपार जलविद्युतको सम्भावना भएको देशमा दक्ष जनशक्तिको अभावका कारण विद्युत उत्पादनमा परेको समस्या समाधान गर्ने उद्देश्यका साथ हाइड्रो पावर इन्जिनियरिङ्ग अध्यापन सुरु गर्न लागेको विश्वविद्यालयका रजिष्टार डा. महेन्द्रकुमार मल्लले बताउनु भयो ।

जलविद्युतको क्षेत्रमा आवश्यक जनशक्ति देशभित्रै उत्पादन हुन नसक्दा अधिकांश विदेशी जनशक्तिको भर पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि अध्यापन सुरु गर्न लागिएको उहाँले वताउनु भयो । यसवर्ष अध्यापनका लागि अन्तर्राट्रिय मापदण्ड र गुणस्तरको पाठ्यक्रम तयार पारी आवश्यक दक्ष जनशक्ति र पूर्वाधारको समेत व्यवस्था गरिएको मल्लको भनाई छ । इन्जिनियरिङ्ग संकायका डिन अनन्तराज घिमिरेले ४ वर्षे कोर्ष अवधिमा विद्यार्थीहरुले आठौं सेमस्टरको ६ महिना जलविद्युत उत्पादन क्षेत्रमा पुगेरै अध्ययन अनुसन्धान गर्ने वताउनु भयो । यस शैक्षिक सत्रका लागि जम्मा ४८ वटा सिटमा आवेदन खुला गरिएको छ । जसमा मध्यपश्चिमका १५ वटा जिल्लाबाट एक÷एक जनाको कोटामा अध्ययन गर्न पाउने छन् ।

४ वर्षे कोर्षमा एकजना विद्यार्थीलाई पूर्ण छात्रबृतिको व्यवस्था गरिएको छ । छात्रवृति प्राप्त गर्ने विद्यार्थीले अध्ययन अवधिभर ३५ देखि ४० हजार रुपैयाँ मात्र तिर्नुपर्ने डिन घिमिरेले जानकारी दिनुभयो । यस्तै, अन्य विद्यार्थीहरुले ४ वर्षमा जम्मा तीनलाख ८४ हजार रुपैयाँ पूर्ण शुल्क तिर्नुपर्ने छ । हाइड्रो पावर इनिजनियरिङ्ग अध्ययनको लागि आवश्यक प्राविधिक सामग्रीहरु समेत विश्वविद्यालयमा ल्याइसकेको जनाएको छ ।

साभारः राराखबर अनलाइन