बुद्ध एयरको उडान परिक्षणः सुर्खेतमा (फोटो फिचर)


मिलन श्रेष्ठ
सुर्खेत, २१ चैत ।
आगामी बैशाख महिनादेखि नियमितरुपमा सुर्खेतदेखि काठमाडौंसम्मको सिधा हवाई उडान सुरु हुने भएपछि आज बुद्ध एयरको ४७ सिटे जहाजको सफल परीक्षण गरिएको छ । सुर्खेत विमानस्थलमा बुद्ध एयरको ४७ सिटको जहाजले सफल परीक्षण गरेको हो । उडान भएपछि सुर्खेत–काठमाडौं नियमित सिधा हवाई उडान हुने भएको छ । विगतमा यति ठूलो जहाजको अवतरण सुर्खेतमा भएको थिएन । पहिलो पटक ठूलो जहाज अवतरण भएको हो ।
विमानस्थलको धावनमार्गलगायत अन्य प्राविधिक दृष्टिले ४७ सिटे जहाजहरु अव सुर्खेत विमानस्थलमा सहजतापूर्वक अवतरण हुने भएकोले बुद्ध एयरले बैशाख १ गतेदेखि सुर्खेत काठमाडौं नियमित सिधा उडान गर्ने जनाएको छ । जहाँजका क्याप्टेन रञ्जनकुमार शर्माले परीक्षण उडान सफल भएकोले नियमित उडान गर्न र ४७ सिटसम्मको जहाज अवतरण गर्न कुनै समस्या नभएको बताउनुभयो । ‘हामीले सफलतापुर्वक जहाज अवतरण गर्न सफल भयौँ’ उहाँले भन्नुभयोे, ‘ विमानस्थलमा कुनै समस्या छैन । ४७ सिटसम्मको जहाज सहजै अवतरण गर्न सकिन्छ ।’


विहान १० बजे बुद्ध एयरको ४७ सिटे ९ एन—एआइएन जहाज प्राविधिक तथा विज्ञसहितको टोलीले सुर्खेत विमानस्थलको पाँच फन्का घुमेर अवलोकन गरेको थियो । सफल उडानसहित अवलोकन गरेपछि फ्लाइट इन्जिनियर उदयकृष्ण श्रेष्ठले ४७ सिटे जहाज अव सुर्खेतबाट संचालन गर्न सकिने बताउनुभयो ।
बुद्ध एयरका निर्देशक खगेन्द्र बस्नेतले बैशाख १ गतेदेखि सुर्खेत–काठमाण्डौँ नियमित रुपमा जहाँज संचालन गरिने बताउनु भयो । उहाँले सुर्खेतदेखि काठमाण्डौँसम्मको हवाई भाडादर बढीमा ६ हजार पाँचसयसम्म तोकिने जानकारी दिनुभयोे ।
विमानस्थल प्रमुख विनोदकुमार पन्तले पनि बुद्ध एयरको परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा ढुक्क भएको बताउनुभयो । उहाँले भौतिक पुर्वाधारले यतिको उठान धान्न सकिने बताउनु भयो । ‘ नियमित हवाई उडानका लागि हामी सक्षम छौँ’ उहाँले भन्नुभयो,। उहाँले नेपाल बायु सेवा निगमले पनि सुर्खेत काठमाडौं उडानको तयारी गरिरहेको जानकारी दिनुभयो ।
सफल उडान भएपछि स्वागत


उडान सफल भएपछि कर्णाली प्रदेश सरकारका मन्त्रीहरुले पनि बुद्ध एयरका चालकसहितलाई स्वागत गरेका थिए । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री, वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाललगायतले स्वागत गर्दै प्रदेश राजधानीदेखि संघीय राजधानीको सिधा सम्पर्क बताएका छन् ।


यस्तै बुद्ध एयरको ४७ सिटे परीक्षण उडान सफल भएपछि सुर्खेतका उद्योगी व्यवसायीहरुले स्वागत गरेका छन् । उनीहरुले यस क्षेत्रको आर्थिक र पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले अब नियमित हवाई उडान भएपछि खुशी व्यक्ति गर्नुभयो । उहाँले सिधा काठमाडौं उडानपछि कर्णाली प्रदेशको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।