सुर्खेत, १५ वैशाख
सुर्खेत उद्योग वाणिज्य संघले माग सुनुवाई नगरेको विरोधमा असन्तुष्ट व्यवसायीले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
शनिबार दिउँसो साढे ४ बजे स्थानीय पिपलचौतारबाट उद्योग संघको कार्यालय नजिक कोणसभा गर्ने भन्दै निस्केको जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले बल प्रयोग गर्दा २ जना महिला व्यवसायी घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय व्यवसायी ४२ वर्षीया चन्द्रा कुमारी धामी र ३५ वर्षीया बालकुमारी थापा छन् । उनीहरुको अहिले स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ ।
उपचाररत धामीले प्रहरीले आफूमाथि लाठी र लात्ती प्रहार गरेको बताएकी छन् । र्यालीमा नारा लगाइरहेका बेला स्थानीय भ्यू होटेल नजिक पुग्दा केही प्रहरीले आफ्नो पाखुरामा लाठी र खुट्टामा लात्तीले बर्साएको उनको भनाइ छ ।
‘शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका महिलामाथि अन्यायपूर्ण व्यवहार भयो,’ उनले भनिन्, ‘दोषि प्रहरीलाई तत्काल कारबाही गरियोस् ।’
प्रहरीले बल प्रयोग गर्दा घाईते भएकी बालकुमारी थापालाई कञ्चट र खुट्टामा चोट लागेको छ । उनको पनि देउती अस्पतालमा उपचार भइरहेको छ ।
आन्दोलनमा भएको हस्तक्षेप र महिला व्यवसायीमाथि लाठी र लात्ती प्रहार भएको विषयमा बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले फोन उठाएनन् । लोकान्तरबाट



Milan Shrestha । १५ बैशाख २०७५, शनिबार १३:११ बजे