सलमान जमानतमा रिहा


अभिनेता सलमान खानलाई शनिबार जोधपुर अदालतले जमानतमा रिहा गरेको छ । उनी ५० हजार भारतीय रुपैयाँ जमानत तिरेर जेलबाट रिहा भएका हुन् । जेलबाट रिहा भएपछि सलमान निजी विमानबाट मुम्बई फर्किएका छन् । सलमान खानलाई यसपटक जोधपुर सेन्ट्रल जेलमा दुई रात बिताउनुपरेको थियो ।

करिब २० वर्ष पुरानो हरिण सिकार काण्डमा बिहीबार जोधपुर अदालतले सलमानलाई दोषी ठह-याउँदै पाँच वर्ष जेल सजाय तोकेको थियो । सलमानको जमानतबारे अदालतले शनिबार फैसला सुनाएको हो ।

बिहानै जोधपुर अदालतपरिसरमा सलमानका फ्यानको भिड लागेको थियोे । अदालतले जमानत मञ्जुर गरेपछि सलमानका फ्यानहरू खुसीले नाचेका थिए । सलमानलाई जमानत मिलेको खबरपछि मुम्बई मान्द्रास्थित सलमान निवास ‘ग्यालेक्सी अपार्टमेन्ट’बाहिर फ्यानले नाराबाजी गरेका थिए ।

उनीहरू बिहीबारदेखि त्यहाँ भेला हुन थालेका थिए । केही फ्यानले तीन दिनदेखि माहिम बन्दरगाहमा सलमानका लागि प्रार्थना गरिरहेको भारतीय मिडियाले जनाएका छन् । प्रशंसकको भिडका कारण सलमानको घरअगाडि सुरक्षा बढाइएको छ ।

साभारः नयाँपत्रिका