चरक हस्पिटलको तेश्रो तलाबाट हामफालेका गुरुङको मृत्यु


३० चैत,पोखरा । पोखराको चरक मेमोरियल हस्पिटलबाट हामफालेका युवराज गुरुङको मृत्यू भएको छ । चरकको तेश्रो तलाबाट हामफाल्दा गम्भीर घाईते भएका लमजुङ घर भई पोखरा ११ फुलबारी बस्ने गुरुङको गएराती उपचारको क्रममा मनिपाल शिक्षण अस्पतालमा मृत्यू भएको हो ।

ओभरडोज औषधी खाएर विरामी भएका उनी ३ दिनअघी चरकमा भर्ना भएका थिए । विहीबार अपराहृन पौने ५ बजे चरक हस्पिटलको नयाँबजारतर्फको सडकमा शिसाको झ्याल फोडेर उनले हामफालेका थिए ।

गुरुङको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई तत्कालै उद्धार गरेर चरक मेमोरियल हस्पिटलमा प्रारम्भिक उपचार गरेपछि पोखराकै मनिपाल शिक्षण अस्पताल रिफर गरिएपनि उपचारको क्रममा मृत्यू भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक -डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

पोखराको महेन्द्रपुलमा ब्यबसाय गर्दै आएका गुरुङ डिप्रेसनमा परेर औषधी सेवन गर्दै आएको र ओभर डोज खाएपछि अस्पतालमा भर्ना भएको प्रहरी श्रोतले बताएको छ । गुरुङको श्रीमतीसँग राम्रो सम्बन्ध नरहेको र पारिवारिक तनावले उनले आत्महत्याको प्रयास गरेको हुनसक्ने प्रहरीको अनुमान छ । यद्वपी यसको पुष्टी हुन बाँकी रहेको प्रहरी बताउँछ ।

श्रीमानले  आत्महत्याको प्रयास गरेपछि बेहोस् भएकी गुरुङकी श्रीमतीको होस् आएको छ ।

मृतक गुरुङको पोष्टमार्टम गरेर आफन्तलाई शव बुझाउने तयारी गरिएको डिएसपी खत्रीले बताए ।

साभारः अनलाइनखबर