नेपालगन्ज, बाँके ‘आमाले बोल्ने भाषा नै वास्तविक पहिचान हो र यसलाई कहिल्यै बिर्सनु हुँदैन’ भन्ने मूल मर्मका साथ नेपालगन्जमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस भव्यताका साथ मनाइएको छ ।
अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रीय कार्य समितिको आयोजना, विश्व हिन्दी महासभा (नेपाल) को सहयोग तथा महेन्द्र पुस्तकालयको सहकार्यमा शनिबार एक विशेष विचार गोष्ठी, सम्मान अर्पण एवं बहुभाषिक काव्य गोष्ठी सम्पन्न भएको हो ।
महेन्द्र पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रममा भाषिक विविधताको अनुपम सङ्गम सहितको कार्यक्रमका प्रमुख अतिथि मधेशी आयोगका पूर्व सदस्य विजय कुमार गुप्ताले सरस्वतीको तस्विरमा अबीर अर्पण गरी शुभारम्भ गर्दै उहाँले मातृभाषाको जगेर्नाले नै समाजको मौलिकता जोगिने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै साहित्यकार, कवि तथा कलाकारहरूले अवधी, नेपाली, हिन्दी, मैथली, उर्दू, नेवारी र देउडा साहित्यकारहरूले कविता, गजल, गीत, र होली विशेष गायनमार्फत मातृभाषाको महत्त्व झल्काएका थिए ।
यस्तै कार्यक्रममा भाषा र संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रतिष्ठानका संस्थापक विष्णुलाल कुमाल, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव, प्रतिष्ठानकी उपाध्यक्ष सुशीला बैश्य र बाँकेका शतक रक्तदाता शतक रक्तदाता पवन जायसवाल सम्मान गरिएको थियो ।
अवधी अभियन्ता आनन्द गिरी मायालुले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षाविद् किरण आचार्य, डा. जगत तिमिल्सिना (देउडा), कल्पना पौडेल जिज्ञासु (नेपाली), विपिन वर्मा (मैथली), सैयद असफाक रसूल हाशमी (उर्दू), र पंकज श्रेष्ठ (नेवारी) लगायतले आ–आफ्नो मातृभाषामा प्रस्तुति दिएका थिए। यस्तै, सुभद्रा यादव, रमराजा यादव र बिमला यादवले मौलिक अवधी गीतहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रमेश चन्द्र कुमालले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भाषिक प्रेम नै राष्ट्रिय एकताको आधार भएको बताउँदै आसन्न होली तथा ईद पर्वको शुभकामना समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष ऋषिराम सापकोटा, डा. राजेन्द्र गुप्ता, पत्रकार धर्मप्रकाश जायसवाल लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।



Prawash Kumar Shakya । ९ फाल्गुन २०८२, शनिबार १८:१८ बजे