घरभाडाको रकमबाट कैदी बन्दीलाई खसी उपहार


बिस्नप्रसाद न्यौपाने
कालिकोट, चैत ३०
जिल्ला समन्वय समिति कालिकोटका सदस्य तथा चर्चित देउडा खेलाडी नेत्रराज शाहीले जिल्ला कारागार कालिकोटमा रहेको कैदी बन्दीहरुलाई नयाँ बर्षको उपलक्ष्यमा खसी उपहार दिएका छन । शाहीले जिल्ला समन्वय समितिबाट घरभाडाका लागि प्राप्त १२ हजार रकमबाट खसी खरीद गरी जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुलाई नयाँबर्षको उपलक्ष्यमा उपहार दिनुभएको हो ।

कैदीबन्दीहरुलाई खसी उपहार दिदै उहाँले आफुलाई प्राप्त भएको घरभाडाको रकम घर नै नभएका कैदी बन्दीहरुलाई नयाँ बर्ष मनाउनका लागि खसी उपहार दिएको बताउँदै उहाँले भन्नुभयो, मेरो घर छदैछ । कारागारमा बन्द कोठामा नयाँ बर्ष मनाउने बन्दीहरुले आफ्नो घरमा बस्न पाएका छैनन् । उहाँहरुले नयाँ बर्षा सामुहिक रुपमा मनाउनका लागि खसी किनेर दिने सोच बनाएर दिएको हुँ ।

१२ हजार घरभाडाका लागि प्राप्त रकमले कारागारका कैदी बन्दीहरुलाई खसी किनेर हस्तान्त्रण गर्दा आफुले घरमा सबै परिवारहरु बसेर नयाँ बर्ष मनाएको जस्तो अनुभुती भएको शाहीले बताउनुभयो ।

देउडा पारखी तथा लेखक साहित्यकार शाहीले कागारका कैदी बन्दीहरुलाई कविता मार्फच नयाँ बर्षको शुभकामना पनि दिनुभयो । गोल घर भित्रका बन्द कोठाबाट भन्ने शिर्षकको कविता बाचन गर्दै शाहीले एउटै धर्ति, एउटै आकाश, बाहिरी भु भाग हेर्न नपाईने तर पात्रोमा हेरेर नयाँ बर्ष महसुस गर्नु पर्ने कैदीबन्दीहरुको पीडा व्यक्त गर्नुभयो ।

लामो समयदेखी देउडा, लोक साहित्यको क्षेत्रमा कलम चलाउने शाहीले बन्दीगृहका कैदी बन्दीहरुलाई यथार्थ भित्रका शब्दहरु नामक कविता संग्रह समेत हस्तान्त्रण गर्नुभएको छ ।

सोही अवसरमा कारागारका कैदीहरुले पनि जिल्ला समन्वय समिति सदस्य नेत्रराज शाही लगायत अन्य पत्रकारहरुलाई भातगाउले टोपी उपहार दिएका थिए ।