गाँउमै गाडि पुग्दा स्थानीय हर्षीत, एक बर्ष भित्र बत्ति पनि बल्ने


विश्वनाथ सिम्खाडा
वैशाख ८, कालीकोट ।

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं ३ मा पहिलो पटक गाडि पुगेको छ । राँचुलिको रताडादेखि फोइमहादेवको फोइपिपलगौंडा सम्मको करिब ४ किलोमिटर सडकको उद्घघाटन गरिए सँगै गाडि पुगेपछि स्थानीय हर्षीत भएका हुन् ।

तिलागुफा नगरपालिका र ३ नं. वडाको ३० लाख, कर्णाली रोजगार कार्यक्रमको १९ लाख गरि जम्मा ४९ लाखको लागतमा सडक निर्माण कार्य सम्पन्न भएसँगै पहिलो पटक ४ वटा गाडि फोइमहादेव पुगेका छन् ।

पहिलो पटक गाडि पुगेपछि तिलागुफा नगरपालिका वडा नं ३ का स्थानियवासीले फुलमाला, अबिर सहित भव्य स्वागत गरेका छन् । गाडी सँगै गाउँमा पुगेका सभासद दुर्गबहादुर रावतले देशको शासन सत्ता परिवर्तन गरि सिंहदरवार घरघरमा पुगाउने कार्यको कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । शिक्षा र स्वास्थ्य भन्दा पनि यहाँका ११ वटै वडालाई सडक संजालमा जोड्ने निर्णय सँगै फोईमा सडक पुगेकाले आफु खुसि भएको भन्दै सभासद रावतले तिलागुफा नगरपालिका कम्युनिष्टले जितेकाले यहाँको बिकास र जनजीवनमा सुधार आउने विस्वास ब्यक्त गर्नुभयो । अबको ५ वर्ष भित्र नमुना जिल्लाका रूपमा परिवर्तन गर्न लागि पर्ने प्रतिबद्वता गर्दै सभासद रावतले तिलागुफा नगरपालिकाको महादेव उच्च माविलाई नमुना उच्च माविका रूपमा चिनाउन आफुले पहल गर्ने बताउनुभयो ।
नगर प्रमुख रतनबहादुर शाहीले बिकास र शुसासनलाई पहिलो प्राथमिकता दिने भन्दै नगरपालिकाले शिक्षा स्वास्थ्य क्षेत्रको स्तर उन्नतिका लागि लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अबको ४ बर्षमा नगरलाई नमुना नगर बनाउने नीति अनुसार काम भइरहेको समेत प्रमूख शाहीको दावी छ ।

नगर उपप्रमुख दन्ता नेपालीले फोइमहादेवलाई अबको १ बर्ष भित्र बिद्युत्तसँग जोड्ने गरी युद्ध स्तरमा काम भइरहेको जानकारी दिनुभयो ।

फोइमहादेव सम्म गाडि पुग्ने आफुले कल्पना पनि नगरेको तिलागुफा नगरपालिका वडा नं ३ का स्थानिय तुलसरा शाहीले बताउनुभयो । उहाँले लामो समयको प्रयास पछि फोइमा गाडि पुगेकाले आफु निकै हषिर्त भएको बताउनु भयो । ४ किलोमिटर बाटोको रेखदेख गर्नका लागि दुई जनालाई १२ हजारका दरले तलब दिएर काम गर्ने जिम्वेवारी दिएको जनाइएको छ ।