सुर्खेत, २२ साउन । राष्ट्रिय निजि तथा आवासीय विद्यालय अर्गनाईजेशन (नेशनल प्याबसन) सुर्खेतका सम्पूर्ण विद्यालहरु श्रावण २३ गते बन्द हुने भएका छन् । सुर्खेत एजुकेशनल डेभलपमेन्ट एकेडेमी (सेडा) सुर्खेतमा कक्षा ५ मा अध्ययनरत विद्यार्थी प्रदीप अधिकारी सोमबार विद्यालयबाट घरतर्फ जानेक्रममा विपरित दिशाबाट आएको स्कुल बसको ठक्करबाट घाईते भई मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा निधन भएकाले नेशनल प्याबसनमा आवद्ध सम्पूर्ण संस्थागत विद्यालयहरु बन्द हुने भएका हुन् ।
दुःखको घडीमा मृतक प्रदीप अधिकारी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्नका लागि भोलि संस्थामा आवद्ध सम्पूर्ण संस्थागत विद्यालयहरु बन्द गरी शोक व्यक्त गरिदिनहुन नेशनल प्याबसनले अनुरोध गरेको छ। नेशनल प्याबसन सुर्खेतको सदस्य समेत रहेको विद्यालयमा अध्यनरत विद्यार्थीको दुखद् खबरले मर्माहत बनाएको छ, नेशनल प्याबसन सुर्खेतका सचिव जीवन शाहीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
पछिल्लो समय सुर्खेत वीरेन्द्रनगरमा सडकको विस्तारसँगै सडक दुर्घटनाको तथ्याङ्क उच्च भइरहेकाले यसलाई न्यूनिकरण गर्नका लागि यथासक्य चाँडो पहल गरिदिनहुन सरोकारवाला निकायहरुसँग आग्रह गर्दै विद्यालय तथा अभिभावकहरुलाई पनि आफ्ना नानाीबावुहरुको सडक सुरक्षा प्रति गम्भीर हुन समेत विज्ञप्तिमा आग्रह गरिएको छ ।



Milan Shrestha । २२ श्रावण २०७५, मंगलवार १५:२३ बजे