गाउँगाउँमा डोजर आतंक जिन्दाबाद
बिस्नप्रसाद न्यौपाने
बैशाख १३, कालीकोट ।
सरकारले बिपन्न नागरिकहरुको आय आर्जनका लागि लागु गरेको कर्णाली रोजगार कार्यक्रम कालीकोट जिल्लाका स्थानिय तहहरुले मनोमानी रुपमा सञ्चालन गर्न थालेका छन् । सरकारले कर्णालीका बेरोजगार बिपन्न नागरिकहरुलाई लक्षित गरेर आर्थिक वर्ष २०६३÷०६४ बाट सञ्चालन गर्दै आएको उक्त कार्यक्रममा जिल्लाका अधिकांश स्थानिय तहले डोजर लगाउन थालेका हुन् ।
कार्यक्रमलाई थप प्रभावकारी वनाउनका लागि कर्णाली रोजगार कार्यक्रम निर्देशिका २०७१ प्रथम संसोधन सहित जारी पनि भएको छ । जसअनुसार समाजजमा रहेका अति विपन्न, एकल महिला, निम्न बर्गका परिवारहरु यसको कामदार छनोट गरिन्छ र उनीहरुले काम गरेर उनीहरुकै ज्यालामा कर्णाली रोजगारको बजेट खर्च हुन्छ । तर कालीकोट जिल्लाका प्राय स्थानिय निकायले निर्देशिका बिपरित काम गर्न थालेका छन् । जिल्लाका खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, पचाललझरना गाउँपालिका लगायतका स्थानिय तहले कर्णाली रोजगारको बजेट सडकमा बिनियोजन गरी डोजर मार्फत सडक खन्न थालेका छन् । कर्णाली रोजगार निर्देशिकाको लक्ष्य भनेको विपन्न तथा वेरोजगार परिवारहरुको सामाजिक सशक्तिकरण, आधारभुत पूर्वाधारमा पहँुच र आय आर्जनका माध्यमवाट जीवन स्तरमा सुधार गरी सामाजिक संरक्षण प्रवद्र्धन गर्नु रहेको छ ।
स्थानिय तहले योजना छनोटमा पुरै निर्देशिकाको परिपालना गरी कामदार छनोट गरिएको तर कार्यान्यवनमा डोजर लगाएर सडक खनिएको एक कर्मचारीले वताए । कर्णाली रोजगार कार्यक्रममा लामो समय काम गरेका एक कर्मचारीका अनुसार गाउमा गरिव, आयश्रोत, एकल महिला घर मुलि नभएका परिवारलाई काममा लगाउने निर्देशिकाको मापदन्ड अनुसार कामदार छनोट गरिएका छन् । तर काम गराउदा उनिहरुलाई खवर नै नगरेर सिधै डोजर मार्फत अधिकांश स्थानिय तहमा काम भईरहेको छ ।
तिलागुफा नगरपालिका वडा नं ३ मा जोड्ने पानीखाल देखि महादेव माबि फोइकोट सम्मको सडक पुरै डोजरले खनेको हो । ४८ लाख लागतको सो योजना डोजर मार्फत कार्य सम्पन्न गरि सकिएको छ । कामदार छनोट गरियो, नागरिकहरुवाट कर्मचारीले नागरिकताको फोटोकपि र फोटा पनि खिचेर ल्याए, तर काम गर्ने वेला जोडर आयो र उसैले सडक खनेर गएको स्थानियले वताए । नाम नबताउने सर्तमा एक जना स्थानियले भने, कार्यालयमा हाम्रा नागरिकताका फोटोकपि र फोटा पनि होलान्, पहिला तपाईले काम पाउनु हुन्छ भन्दै सबै कागज मागे अहिले वाटो डोजरले खनेर पैसा डोजरले लियो । त्यहाँ काम गर्नका लागि भनेर १ सय २६ जना कामदार पनि छनोट भएको देखाईएको छ ।
यस्तै तिलागुफा नगरपालिकाकै ओखर भिटादेखि छाप्रे सम्मको ४८ लाखको योजना पनि डोजरले खनेको स्थानिय वताउछन् । तिलागुफाकै केन्द्र रहेको गाल्जेवाट बालिचौर सम्म ४८ लाखको काम पनि जोडरले खनिरहेको स्थानिय गौरी शाहीले वताईन् । भैसिगौडा देखि चिल्खाया सम्मको ४८ लाखको योजना पनि डोजरले खनेर सकेको एक कर्मचारीले वताए । उनले भने, मलाई भन्यो नभन्नु होला, काम डोजरले गरेको हो, त्यहाँ पनि १ सय २६ जना कामदार सुरुमा छनोट गरिएको थियो । वेरोजगार नागरिकहरुको नाममा आएको पैसा डोजर लगाएर खर्च गर्दा नागरिकहरुले के गरेर रोजगारी वन्ने भन्दै उनिहरु गुनासो गर्न थालेका छन् ।
यस्तै कर्णाली रोजगारको रकमवाट खाँडाचक्र नगरपालिकाका भित्रका केही वडामा डोजर परिचालन भएको छ । वडा नं ३ को तिलाकर्णाली वहुमुखि क्याम्पस हुदै वद्रिगाउ जोड्ने ४८ लाखको योजना पनि डोजर लगाएर खनिएको त्यहाँका स्थानियले वताएका छन् । प्राय वडाको बिकासे वजेट र कर्णाली रोजगारको वजेट एकै ठाउमा राखिएको छ । यसो हँुदा डोजर लगाउन सजिलो हुने जनप्रतिनिधिहरुको भनाई छ ।
कर्णाली रोजगारको कार्यालयका लेखापाल महेश शाहीले कुरा सुनिन्छ, तर आधिकारीक रुपमा यहाँ डोजर लाग्यो भनेर निवेदन आउदैन कसरी के गर्ने निकै समस्या भएको वताए । उनले भने स्थानिय तहमा जनप्रतिनिधिहरु आएर काम गर्न असजिलो भएको छ । उहिरुले मिलाएको छ भन्छन, तर मलिाउदैनन के गर्नु । उता रास्कोट नगरपालिकामा नगरको वजेटले डोजर मार्फत सडक निर्माण भईरहेको छ । रास्कोट नगरपालिकाको बडीमालिका मावि देखी शम्भुनाथ जाने सडकमा कर्णाली रोजगारकै बजेट मार्फत डोजरले सडक खनिरहेको छ । सेराचौर देखि तुसारखोला सम्मको सडकमा नगरको वजेटले डोजर लगाईएको हो । तर पछि कर्णाली रोजगारको वजेटमा काम गर्ने १ सय ५६ जना छनोट भएका थिए । रास्कोट नगरपालिका मेयर कासीचन्द्र बरालले कर्णाली रोजगारको काम गर्ने सडकमा पहिले नगरको डोजरले बाटो खन्ने पछि कामदारले जाली हाल्ने, पर्खाल चिन्ने काम गर्ने गरी काम भईरहेको बताउनुभयो ।
जनप्रतिनिधिहरुको भन्ने र गर्ने ब्यबहारमा एकातिर एकरुपता देखिदैन भने अर्कोतिर जनप्रतिनिधिहरु बिचमै यहि बिषयमा बिबाद देखिन थालेको छ ।



Milan Shrestha । १३ बैशाख २०७५, बिहीबार १३:१० बजे