१५ जेठ, काठमाण्डौं । सुर्खेतका आर्टिष्ट सुभाष कुमार शाक्य कर्णालीको उत्कृष्ट चित्रकार घोषित हुनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ मा प्रादेशिक ललितकला विधा अन्तर्गत समसामयिक चित्रकला विधातर्फ सुर्खेतका शाक्य उत्कृष्ट हुनुभएको हो ।
काठमाण्डौंमा आज सम्पन्न ललितकला प्रदर्शनीमा राउटे महिला तथा बालबालिकाको दैनिकीलाई चित्रका माध्यमबाट उतारिएको तस्विरबाट शाक्य कर्णालीबाट उत्कृष्ट हुनुभएको हो । उहाँले नगद ३० हजार पुरस्कार प्राप्त गर्नुभएको छ । विगतदेखि नै चित्रकलातर्फ संलग्न शाक्य पछिल्लो समय कमर्शियल आर्टिष्ट संघ सुर्खेतको संस्थापक तथा केन्द्रीय सदस्य हुनुहुन्छ । सुर्खेतमा उहाँ शाक्य आर्टले परिचित हुनुहुन्छ । शाक्य आफु पुरस्कृत हुँदा पहिलो गुरु आफ्नो बुवा स्वर्गिय जीवनकुमार शाक्य र गुरु कमल श्रेष्ठलाई सम्झिएको बताउनुहुन्छ ।
यसैगरी प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कारतर्फ समसामयिक मूर्तिकलामा कर्णालीबाट सल्यानका टोपेन्द्र डाँगी उत्कृष्ट हुनुभएको छ । उहाँले नगद ५० हजार पुरस्कार प्राप्त गर्नुभएको छ । साथै जाजरकोटका कोसीकुमार बुढाले बनाएको भूकम्पको बेदनाको मूर्तिलाई कर्णालीको उत्कृष्ट मूर्ति भएको छ । उहाँले नगद २० हजार प्राप्त गर्नुभएको छ ।
Milan Shrestha । १९ असार २०८१, बुधबार २०:२५ बजे