सडकले बढायो व्यापार


तुलाराम पाण्डे
बैसाख १४, फोइमहादेव, कालिकोट ।

फोइमहादेवका कृषक मनिचन्द्र पाण्डेले एक साताअघि ५ रुपैयाँ केजीमा बिक्री गरेको आलु वैशाख ७ गते गाउँमा गाडी पुगेपछि प्रतिकेजी १२ रुपैयाँमा बिक्री गरे । ‘सडकले दोब्बर फाइदा भयो,’ महादेव मावि फोइकोट विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका अगुवा कृषक पाण्डेले भने, ‘पिठ्युँमा बोकेर कर्णाली राजमार्गमा झार्न महँगो पथ्र्यो, अब सजिलो भयो ।

कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकसँग जोडिन यहाँको तिलागुफा नगरपालिकाले चार किमि राँचुली पीपलगौडा सडक निर्माण गरेर फोइमहादेवलाई सडक सञ्जालसँग जोडेको छ । सडकसँग गाउँ जोडिएपछि यहाँका कृषकले उत्पादन गरेको तरकारी, फलफूल र जडीबुटी बजार पुर्‍याउन सहज भएको तिलागुफा ३ का वडाध्यक्ष सूर्यबहादुर शाहीले बताए ।

तिलागुफाको राँचुलीदेखि फोइसम्मको ४ किमि सडकमा गाडी गुडेका छन् । स्थानीयलाई आवागमनमा पनि सहज भएको छ । नगरपालिकाले ४५ लाख रुपैयाँको लगानीमा ग्रामीण कृषि सडकको निर्माण गरेर उत्पादनलाई बजारीकरण गर्न सहयोग पुर्‍याएको स्याउ कृषक बेगम शाहीले बताए । उनले पिठ्युँमा बोकेर लैजाँदा दाग लागेर आधा स्याउ बिग्रिने गरेको सुनाउँदै सडक पुगेपछि सुरक्षित रूपमा फोइमहादेवको स्याउ कर्णाली राजमार्गबाट सुर्खेत, नेपालगन्ज, धनगढी, बुटवललगायत सहर पुर्‍याउन सजिलो हुने बताए । नगरपालिकामा स्याउ, सिमी, आलुलगायत कृषिजन्य वस्तुको उत्पादन धेरै हुने र सडक नहुँदा बजारीकरण गर्न कठिनाइ भएकाले कृषि सडकलाई पहिलो प्राथमिकतामा राखिएको नगरप्रमुख रतनबहादुर शाही बताउँछन् । ‘ग्रामीण सडकको निर्माण नहुँदा स्थानीय उत्पादनको बजार पुर्‍याउनै कठिन थियो,’ शाहीले भने, ‘आर्थिक समृद्धिका लागि उत्पादन बढाउने र उचित मूल्य दिलाउन सडकमा लगानी गरियो ।’

कर्णाली राजमार्ग निर्माणसँगै कालिकोटका ग्रामीण भेकमा कृषकले बारीमा स्याउ, ओखरलगायत फलफूल रोप्ने अभियान नै चलाएका थिए । कर्णाली राजमार्ग तिला नदीको तिरैतिरमात्र गएको सडकसँग गाउँ जोडिन नसक्दा ढुवानी समस्याले कृषक मर्कामा थिए । ‘कर्णाली राजमार्ग बन्न थालेपछि स्याउ रोपेका हौं,’ फोइमहादेवका कृषक ददीसिंह कार्कीले भने, ‘गाउँ जोड्ने सडक नहुँदा बजार पुर्‍याउन कठिन थियो, अब सहज हुने भयो ।’ उनले चामल बोकेर आएका गाडीमा स्याउ भरेर पठाउन खेत पाखो जताततै स्याउ खेती गरिएको बताए ।

केही ठेकेदारले नाग्म हुँदै बजेडी चौरसम्म सुर्खेत नेपालगन्जबाटै कार्टिज बोकेर मिनीटाटामा ढुवानी गरेका स्याउ सस्तोमा खरिद गरी महँगोमा बेच्ने गरेका थिए । अब गाउँमै गाडी पुगेपछि कृषकले मूल्य पाउने स्थानीय अगुवा मायालाल महताराले बताए ।

कालिकोटका ग्रामीण भेकमा फलेका स्याउ ढुवानी समस्याले सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यताको अन्त्य भएको अर्का कृषक भक्ति पाण्डेले बताए । उनले रातदिन पसिना बगाएर बारीमा स्याउ फलाएका यहाँका कृषकलाई भण्डारण र प्याकिङ गर्ने तरिकाबारे सीप दिनुपर्ने बताए । ‘उचित ढुवानी व्यवस्था नहुँदा न उत्पादन गर्ने कृषकले मालको मूल्य पाएका थिए, न त उपभोग गर्ने उपभोक्ताले नै सस्तोमा पाए,’ उनले भने, ‘अब त्यस्तो अवस्था रहेन ।’

डेढ दशकको प्रतीक्षापछि २०६३ को चैत ३० गते कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकको ट्रयाक निर्माण सम्पन्न भए पनि गाउँ जोड्ने सडक बनेको थिएन । यहाँका फोइमहादेव, राँचुली, जुविथा, पाखा, छाप्रे, चिल्खाया, मुग्राहा, सुकाटिया, स्युनालगायत ३० वटै गाविसका कृषकले २०५७ देखि लागू भएको कर्णाली अञ्चल विशेष कृषि विकास आयोजनाअन्तर्गत डेढ लाख स्याउका बिरुवा रोपेका थिए । कर्णालीमै सबैभन्दा बढी स्याउ उत्पादन कालिकोटमा हुन थालेको जिल्ला कृषि विकास कार्यालयको दाबी छ । गत वर्ष कालिकोटका विभिन्न गाविसमा १४ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जिल्ला कृषिले जनायो ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यहाँको फोइमहादेव गाविसमा मात्र ८० हजार स्याउका बिरुवा छन् । हाल वार्षिक १४ सय मेट्रिक स्याउ फोइमहादेवमा मात्रै उत्पादन हुने गरेको छ । फोइस्थित महादेव माविका मात्र ३ हजार स्याउका बिरुवा छन् । तीमध्ये एक हजार बिरुवा बर्सेनि फल्ने गरेको प्रधानाध्यापक नरदीप शाहीले बताए । उनले रूख बुढा भएकाले उत्पादन कम हुन थालेको सुनाए । विद्यालयको भरपर्दो आम्दानीको स्रोत स्याउ बनेको छ ।

वर्षमा सय किमि सडक
तिलागुफा नगरपालिकाले यस वर्ष मात्र एक सय किमि सडक निर्माण गरेको छ । नगरले आर्थिक वर्ष २०७४/०७५ को तेस्रो चौमासिकसम्म एक सय किलोमिटर आन्तरिक सडक निर्माण गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाकाले २३ किमि चौखोला–ओखरभिटा, १६ किमि चिल्खाया–रुरु सडकखण्ड, १७ किमि गाल्जे–जुबिथा, २८ किमि नाग्म–फोइमहादेव र १६ किमि राँचुली जुबिथा सडकखण्ड निर्माण गरेको छ ।

नगरपालिकाले दुई वर्षभित्र सबै वडामा सडक पुर्‍याउने लक्ष्य पूरा गर्न सडक निर्माणको कामलाई तीव्रता दिएको नगर उपप्रमुख दन्ता नेपालीले बताइन् । ‘दुई वर्षमा नगरका सबै वडामा सडक पुर्‍याउने लक्ष्य छ,’ उनले भनिन्, ‘त्यसैअनुरूप सडक निर्माणका कार्यलाई तीव्रता दिएका छौं ।’ उनले कृषि उपज बजार पुर्‍याउन सडक आवश्यक रहेको महसुस गरेरै सडक निर्माणका लागि नगरपालिकाले करिब ७ करोड रुपैयाँ विनियोजन गरेको बताइन् । कान्तिपुरअनलाइनबाट