साधारणसभा के हो ? कसरी गर्ने निर्णयहरु


general-meetingसाधारणसभा भन्नाले कम्पनीको शेयर पूँजीमा हक भएका शेयरवालाहरूको संयुक्त बैठक भन्ने बुझिन्छ । सामान्यतया हरेक वर्षमा एकपटक शेयरवालाहरूले कम्पनीको विविध पक्षका बारेमा छलफल गर्नका लागि औपचारिक कार्यक्रम गर्ने गरिन्छ । सोही औपचारिक कार्यक्रमलाई साधारणसभा भनिन्छ । साधारणसभालाई शेयरवालाहरूले कम्पनीको व्यवस्थापनलाई नियन्त्रणमा लिने कानूनी एवम् व्यावहारिक माध्यमका रुपमा पनि लिन सकिन्छ । साधारणसभा  सबै शेयरधनीहरू उपस्थित भई छलफल गरी निश्चित निष्कर्ष निकाल्ने ठाउँ हो । त्यसैले साधारणसभालाई कम्पनीका लागि सर्वोच्च निकाय मान्न सकिन्छ ।

साधारणसभासम्बन्धि कानुनी प्रावधान
कम्पनी ऐन २०६३ को दफा ६७ ले कम्पनीको वार्षिक साधारणसभा र विशेष साधारणसभा गरी दुई प्रकारको हुने उल्लेख गरेको छ । दफा ७६ ले प्रत्येक पब्लिक कम्पनीले कारोबार शुरू गर्ने अनुमति पाएको १ वर्ष्भित्र प्रथम वार्षिक साधारणसभा गर्नुपर्नेछ । त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको ६ महीनाभित्र वार्षिक साधारणसभा गर्नुपर्छ । म्याद नाघेको ३ महीनाभित्र वार्षिक साधारणसभा नबोलाएमा कार्यालयले त्यस्तो कम्पनीलाई वार्षिक साधारणसभा बोलाउन निर्देशन दिन सक्छ । यस्तै, निर्धारित समयमा कम्पनीले साधारणसभा नगरे शेयरधनीले अदालतमा निवेदन दिन पनि सक्ने व्यवस्था छ ।

सेयरधनीहरुको सभा
साधारणसभा शेयरधनीहरूको सभा हो । पब्लिक कम्पनीको नियमावलीमा गणपूरकका लागि सङ्ख्या तोकिएकोबाहेक पब्लिक कम्पनीको बाडँफाँट भएको कुल शेयर सङ्ख्याको ५० प्रतिशतभन्दा बढी शेयरको प्रतिनिधित्व हुने गरी शेयरधनी वा प्रतिनिधि उपस्थित हुनुपर्छ । यस्तै, गणपूरक सङ्ख्या नपुगेका कारण साधारणसभा हुन नसकेमा ७ दिनको सूचना दिई अर्कोपटक सभा बोलाउँदा बाँडफाँट भएको कुल शेयर सङ्ख्याको २५ प्रतिशत शेयरको प्रतिनिधित्व हुने गरी कम्तीमा तीनजना शेयरधनी उपस्थित हुनुपर्छ । यस्तै, प्रालिले साधारणसभाको गणपूरक सङ्ख्या कम्पनीको नियमावलीमा लेखिएबमोजिम हुन्छ ।

छलफलका विषय
साधारणसभाले पारित गरेको शेयरधनीहरूको इच्छाबमोजिम सञ्चालक समितिले काम गर्नुपर्छ । कम्पनीको वार्षिक साधारणसभामा सामान्यतया कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र सञ्चालकको प्रतिवेदनजस्ता विषयमा छलफल गरिन्छ । कार्यालयले पूर्वस्वीकृति दिएकोबाहेक पब्लिक कम्पनीले साधारणसभा कम्पनी रजिष्ट्रारको कार्यालय रहेको जिल्ला वा सोसँग जाडिएका अधिकांश शेयरधनीलाई पायक पर्ने ठाउँमा गर्नुपर्छ भने प्रालिले राज्यभित्र वा बाहिर, जहाँ पनि गर्न सक्ने व्यवस्था छ । कम्पनीको अधिकृत पूँजी बढाउन, शेयर पूँजी हेरफेर, नाम र मुख्य उद्देश्य परिवर्तन गर्न, कम्पनी गाभिने विषय, बोनस शेयर जारी गर्ने, प्रालिबाट पब्लिक वा पब्लिकबाट प्रालि कम्पनीमा परिणत हुने विषयमा निर्णय गर्न साधारणसभामा विशेष प्रस्ताव पेश गर्नुपर्छ ।

साधारणसभाको निर्णय र प्रतिवेदन
साधारणसभाको कामकारबाहीको निर्णय एउटा छुट्टै किताबमा राख्नुपर्छ । सो निर्णय सम्बन्धित सभाको अध्यक्ष र कम्पनी सचिव भए कम्पनी सचिवले, नभएको कम्पनीको हकमा साधारणसभाद्वारा बहुमतबाट नियुक्त शेयरधनीहरूको एकजना प्रतिनिधिले प्रमाणित गर्नुपर्छ । पब्लिक कम्पनीले वार्षिक साधारणसभा हुनुभन्दा २१ दिनअघि नै दफा ७८ बमोजिमको प्रतिवेदन सञ्चालक समितिबाट स्वीकृत र लेखापरीक्षकबाट प्रमाणित गरी कम्पनी रजिष्टारको कार्यालयमा पेश गर्नुपर्छ । वार्षिक साधारणसभा भएको ३० दिनभित्र सभामा उपस्थित शेयरधनीहरूको सङ्ख्या, वार्षिक, आर्थिक विवरण, सञ्चालक र लेखापरीक्षकको प्रतिवेदन एवम् सभाले गरेको निर्णयको एक प्रति कम्पनी रजिष्टारको कार्यालयमा पठाउनुपर्छ । निर्धारित समयभित्र त्यस्ता प्रतिवेदन नबुझाउने कम्पनीले जरीवाना तिर्नुपर्ने व्यवस्था पनि ऐनले गरेको छ ।

कसले, कसरी बोलाउने साधारणसभा ?
ऐनको दफा ८२ मा आवश्यक देखेमा कम्पनीको सञ्चालक समितिले विशेष साधारणसभा बोलाउन सक्ने व्यवस्था गरेको छ । पब्लिक कम्पनीको हकमा वार्षिक साधारणसभाका लागि २१ दिन र विशेष साधारणसभाका लागि १५ दिनअगाडि साधारणसभा हुने ठाउँ, मिति, छलफल गर्ने विषय प्रस्ट उल्लेख गरी सूचना दिनुपर्ने कानूनी व्यवस्था छ ।

प्राइभेट कम्पनीका लागि छुट
यस्तै, प्राइभेट कम्पनीले आफ्नो नियमावलीमा व्यवस्था गरी सो सूचना दिने अवधिमा थपघट गर्न सक्नेछ । प्राइभेट कम्पनीको हकमा शेयरवाला, सर्वसम्मत सम्झौता र कम्पनीको नियमावलीमा व्यवस्था गरी साधारणसभासम्बन्धी व्यवस्था नराख्न पनि सक्ने प्रावधान ऐनले गरेको छ । प्राइभेट कम्पनीले साधारणसभाको व्यवस्था नराख्ने सर्वसम्मत निर्णय लिखित रूपमा वा साधारणसभाबाट पारित भएको हुनुपर्छ । प्राइभेटको हकमा साधारणसभा गर्ने कार्यविधिबारे खासै व्यवस्था नगरी नियमावलीमा व्यवस्था गरिनेछ । यस्तो व्यवस्थामा प्राइभेट कम्पनीलाई निकै स्वतन्त्रता प्रदान गरेको पाइन्छ । एकल शेयरधनी भएको कम्पनीले नियमावलीमा अन्यथा व्यवस्था गरेकोमा बाहेक ऐनले साधारणसभाले गर्ने भनिएका सम्पूर्ण कामकारबाही तथा निर्णय एकल शेयरधनीको लिखित निर्णयअनुसार हुनेछ । यसका लागि साधारणसभा बोलाउनुपर्ने छैन भन्ने व्यवस्था छ ।

२०७३/०६/१८

साभार : bankingkhabar.com