अविरल ढकाल,
वैशाख १७, जुम्ला ।
कर्णाली अञ्चलको पहिलो चन्दननाथ नगरपालिका सुन्दा पनि अनौठो लाग्छ, जहाँ नगरपालिकामा हुनु पर्ने भौतिक विकासका पूर्वधार नै छैनन् । जुम्लाको चन्दननाथ नगरपालिकामा विद्युत, खानेपानी, सञ्चार, यातायात र स्वास्थ्य लगायतका कुनै पनि विकासका पूर्वाधारको विकास भएको छैन । नेपाल टेलिकम दुरसंचार कार्यालय जुम्लाका सेवाग्राही, उपभोक्ताहरुले आफुहरु ठगिएको बताएका छन् । टेलिकमको कुनै पनि सेवा प्रभावकारी नभएको दावि गर्दै आफुहरु ठगिएको सेवाग्राहीले बताएकाहुन् । हाल दुरसंचार कार्यालयबाट प्रवाह भैरहेको एडीएसएल ईन्टरनेट सेवा, ल्यानलाईन फोन सेवा र स्काई, नमस्ते प्रिपेड सेवाले राम्रोसँग काम नगर्दा आफुहरु सेवामा ठगिएको उपभोक्ताले बताएकाहुन् ।
कुरा नबुझीएर मोबाईलमा रिचार्ज सकिने, ल्यानलाईन फोन र ईन्टरनेट सेवा प्रयोग नगरेरै बिलतिर्नुपर्ने, अधिकांश गाँउ ठाँउमा फोनले नै काम नगर्ने लगाएतका समस्या सेवाग्राहीले भोग्दै आएका छन् । ‘गाँउमा टेलिफोनका टावर जडान गरीएका छन्, तर टेलिफोनले काम गर्दैन । आवाज नसुनिएरै पैसा सकिन्छ, सदरमुकाम केन्द्रीत टेलिकमले हामीलाई मारमा पा¥यो’ सिंजा गोठिज्युलाका ब्यापारी धनबहादुर बुढाले भने, ‘टेलिकमले जथाभावि सिमकार्ड बितरण गरी सेवाग्राहीको संख्यामात्र बढाएर हँुदैन । प्रभावकारी रुपमा सेवा प्रवाह गर्नुपर्छ, नत्र हामि ठगिएको पनि जिम्मा लिनु पर्ला’ ।
उनिजस्तै सिंजा क्षेत्रका सबै स्थानियको भनाई एउटै छ । ‘कि टेलिफोन सेवा प्रभावकारी बनाईनु प¥यो, होईन भने देखाउने टावर मात्र राखेर हुदैन । करोडौ रकमले जिल्लाको ठाँउ ठाँउमा निर्माण गरीएका टावरले राम्रोसँग काम नगर्दा फोन बुझिदैन, तर पैसा अनिवार्य काटिन्छ, एउटै कुरा सुन्न धेरै पटक फोन गर्नुपर्छ, नराकोटका होटल ब्यवसायी हरीकृष्ण बुढाले भने ।’
जिल्लाका ग्रामिण क्षेत्रका सेवाग्राही नागरीकले टेलिफोनले राम्रोसँग काम नगर्दा आफुहरु ठगिएको बताईरहँदा सदरमुकामसँगै जोडिएका केहि बस्तिहरुमा समेत टेलिफोनले काम गर्दैन । सदरमुकाममा रहेको चन्दननाथ नगरपालिका भित्रका ८ र ९ नं वडाका अधिकांश बस्तिहरु अँझै टेलिफोनको पहुँजमा समेत पुगेका छैनन् । तलिउम घरभई जुम्ला बसपार्कमा होटल ब्यवसाय संचालन गर्दै आएका कृष्णबहादुर रावलले गाँउमा टेलिफोनले कामनगर्दा घरको खबर आदान प्रदान गर्न निकै समस्या भएको बताए ।
‘युग विज्ञान र प्रविधिको तर हामी नगर बासी ढुंगे युको अवस्थामा छौ । घरमा महत्वपुर्ण काम परेमा फोनले काम नगर्दा दौडेरै जानुपर्छ, या त घरका मान्छे डाँडाँमा आएर फोन गर्नुपर्छ’ उनले भने, ‘घरमा राखिएका टेलिफोनले काम नगर्दा हामी सेवाबाट बञ्चित भएका छौं ।’ सदरमुकाममै टेलिकमले आफ्नो सेवाविस्तार कार्यमा निकै ढिलासुस्ती गरीरहेको आरोप लगाँउदै यहि रप्तारले गाँउगाँउमा पुर्ण टेलिकम सेवा छिट्टै नपुग्ने उनले दावि गरे ।
‘बसपार्क क्षेत्रमा टेलिफोनको लाईन लिनुपर्दा ३ सय बढि मिटर तार तान्नुपर्छ, यसमा धेरै रकमखर्च हुने भएकाले हामी सानो ब्यवसायीलाई मारमा पारेको छ’ उनले फेरी थपे ‘यसरी दुरसंचारको टेलिफोन र ईन्टरनेट सेवा प्रयोग गर्न सकिँदैन, टेलिफोनको डिस्टीविसन प्वाईन्ट नजिक हुनुपर्छ, टेलिकमले हाम्रो कुरा सुनुवाई गर्दैन ।’
जिल्लामा दुरसंचारको टेलिफोन र ईन्टरनेट सेवा विस्तारका लागि विभिन्न राजनैतिकदल, नागरीक समाज र समुहहरुद्धारा पटक पटक निबेदनका साथ पहल भएपनि त्यसको सेवा विस्तारमा भने ढिलाई भएको छ । धेरै बर्षदेखि सभा सम्मेलनमा उठ्दै आएको यो कुरा अँझै सुनुवाई भएको छैन । तर दुरसंचारको कार्यालयले भने सेवा विस्तार कार्य तिब्र गतिले भैरहेको बताएको छ । टेलिफोन र ईन्टरनेट सेवाग्राहीको संख्याह्वातै बढेकाले समस्या देखिएको भन्दै टावरको क्षमता विस्तार कार्य रप्तारमा अघि बढेको कार्यालय प्रमुख श्रिधर अधिकारीले बताए ।



Milan Shrestha । १७ बैशाख २०७५, सोमबार १४:०६ बजे