कञ्चनपुरमा एक होटल व्यवसायीको घाँटी रेटेर हत्या


कञ्चनपुर, फागुन १७ – कञ्चनपुरको कलुवापुर बजारमा एक जना होटल व्यवसायीको घाँटी रेटेर हत्या भएको छ । कलुवापुर बजारमा होटल सञ्चालन गर्दै आएका ४० वर्षका दामोदर अवस्थीको नचिनेका मानिसको समूहले घाँटी रेटेर हत्या गरेको हो ।
अवस्थीको शव होटल भित्र घाँटी रेटेर हत्या गरी कपडाले छोपेर राखेको अवस्थामा सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बिहान होटलमा दूध पुर्‍याउन गएका किसानले अवस्थीको घटना बारे प्रहरीलाई खबर गरेका  थिए ।
लामो समयसम्म ढकढक्याउँदापनि सटर नखुलेपछि होटलको पछाडि गएका दूग्ध किसानले होटलको खुला रहेको ढोकाबाट भित्र जाँदा अवस्थीको शव देखेको बताएका छन् । झलारी पिपलाडी नगरपालिका–१ ढकनिया घर भएका होटल व्यवसायीको हत्याका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।