ललितपुर, २० वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आदिवासी जनजाति महासंघका प्रतिनिधिले सरकारले हटाएका पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन माग गरेका छन् । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बिहीवार बिहान भेट गर्दै उनीहरुले सांस्कृतिक पर्वहरुमा पाउँदै आएको बिदा कटौति भएको भन्दै ज्ञापनपत्र बुझाएका थिए ।
भेटमा अध्यक्ष प्रचण्डले समुदायसँग छलफल नगरी कटौति भएका बिदा पुनरावलोकनको पहल गर्ने बताए । उनले धेरै बिदा भएको भन्ने चर्चा भइरहँदा सरकारले बिदा घटाउने प्रयास गरेको हुनसक्ने बताउँदै सम्बन्धित समुदायसँग छलफल नगर्दा समस्या भएको उल्लेख गरे ।
‘अहिले दिइरहेको बिदा कटौती गर्ने भन्ने छलफल भएको बिषय होइन । बिदाको पक्षमा तपाईहरूलाई मेरो सहयोग हुन्छ,’ प्रचण्डले भने । उनले प्रधानमन्त्रीसँग छलफल गरेर बिदाका बारेमा टुंगो लगाउने बताए ।
प्रचण्डले आदिवासी जनजातिका मुद्दा माओवादी आन्दोलनसँग पनि जोडिएको बिषय भएको भन्दै यसमा आफ्नो सकारात्मक सहयोग हुने विश्वास दिलाए । उनीहरुले पर्व बिदा आदिवासी जनजातिको आन्दोलनको उपलब्धी भएको भन्दै सरकारले कुनै सरसल्लाह बिना नै बिदा कटौति गरेको बताए ।
त्यसैगरी आदिवासी जनजाति उत्थान प्रतिष्ठानलाई निश्क्रिय बनाएको, गुम्वा विकासमा बजेट नदिएको दुर्गम क्षेत्र विकास समितिलाई खारेजीको प्रक्रियामा लगेको, प्रदेशको नामाङ्कनमा पहिचान छुटाएको लगायतका गुनासा आदिवासी जनजातिहरूको थियो ।
लोकान्तरअनलाइनबाट



Milan Shrestha । २० बैशाख २०७५, बिहीबार ०५:३६ बजे